वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक श्रृंखलाको अन्तिम(तेस्रो)टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटरले खराब प्रदर्शन गरेका छन्। नेपाली इनिङ निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै १२२ रनमा रोकिएको छ।
माथिल्ला क्रमका ब्याटरमा ओपनर कुशल भुर्तेलबाहेक कसैले पनि खुलेर खेल्न सकेनन्। भुर्तेलले २९ बलमा २ चौका र ३ छक्काको मद्दतले ३९ रन बनाए। उनीसँगै ओपनिङमा आएका कुशल मल्ल पूरै समय दबाबमा रहेर २१ बलमा १२ रनमा आउट भए।
यस्तै तेस्रो क्रममा आएका कप्तान रोहित पौडेलले १९ बलमा १७रन, चौथो क्रममा आएका गुल्शन झाले १२ बलमा १० रन, पाँचौँ क्रममा आएका सन्दीप जोराले १५ बलमा १४ रन, छैटौं क्रममा आएका आरिफ शेखले ३ बलमा ६ रन, सातौं क्रममा आएका मोहम्मद आदिल आलमले ५ बलमा ३ रन, आठौं क्रममा आएका लोकेश बमले १० बलमा ९ रन मात्रै जोडे।
वेस्ट इन्डिजका तर्फबाट बलरले आज निकै कसिलो बलिङ गरे। जसमा सर्वाधिक रामोन सिमन्ड्सले तीन ओभरमा १५ रन खर्चिएर चार विकेट लिए।
अब श्रृंखला क्लिनस्वीप गर्न नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ। वेस्ट इन्डिजले यो खेल जिते २–१का साथ नेपालले श्रृंखला जित्नेछ।
प्रकाशित: १४ आश्विन २०८२ २२:०३ मंगलबार