नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो।
आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्ड गरी चार टोली सहभागी सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो। खेलेका ६ खेलमध्ये नेपालले चार खेलमा शानदार जित दर्ता गर्यो भने बाँकी दुई खेल वर्षाका कारण नतिजाविहीन बनेका थिए।
हङकङविरुद्धको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षा हुनुअघि ११ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको थियो। त्यसपछि मौसम प्रतिकूल बनेर खेल अगाडि बढ्न नसकेपछि अंक बाँड्दै नेपाल शीर्ष स्थानमा रहेर उपाधि उचाल्न सफल भयो।
प्रतियोगितामा नेपालको यात्रा निकै प्रभावकारी रह्यो। पहिलो खेलमै थाइल्याण्डलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको नेपालको चीनविरुद्धको दोस्रो खेल वर्षाले बिथोलिएको थियो।
त्यसपछिका खेलमा भने नेपाली टोली पूर्ण रूपमा हाबी भयो। तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले हराएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि ५२ रनको जित निकाल्यो।
यस्तै, पाँचौं खेलमा घरेलु टोली चीनलाई ८४ रनले स्तब्ध पार्दै नेपालले उपाधि यात्रा निश्चित गरेको थियो।
प्रकाशित: २२ कार्तिक २०८३ १६:२८ आइतबार