खेल

भुटानमाथि नेपालको गोलवर्षा, ८-० ले विजयी

तस्बिर: एन्फा।

मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकको मद्दतले नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानमाथि ८-० को सानदार जित हात पारेको छ।

बंगलादेशमा भएको खेलमा एकतर्फी जित निकाल्दै नेपालले उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको हो।

नेपालले खेलको सुरुवातदेखि नै भुटानलाई दबाबमा राखेको थिय । खेलको ४४ औं सेकेन्डमै मिना देउवाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। नवौं मिनेटमा समिक्षा मगरले गोल थपिन् भने १२ औं मिनेटमा मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रतामा पुर्‍याइन्।

त्यसपछि पूर्णिमा राईले गोलको वर्षा गरिन्। उनले खेलको २३ औं मिनेटमा पहिलो गोल गरिन्। पहिलो हाफको इन्ज्युरी समयमा दुई गोल थप्दै पूर्णिमाले आफ्नो ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमा ६-० को फराकिलो अग्रता बनायो।

दोस्रो हाफमा पनि नेपालको आक्रमण रोकिएन। खेलको ६३ औं मिनेटमा कुसुम खतिवडाले गोल गरिन् भने लगत्तै ६४ औं मिनेटमा मिना देउवाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नेपालले ८-० को जित सुनिश्चित गर्‍यो।

यो जित नेपालको प्रतियोगितामा चौथो जित हो। ५ खेल खेलेको नेपालले १२ अंक जोडेको छ।

अब नेपालले उपाधिका लागि सोमबार आयोजक बंगलादेशसँग खेल्नेछ। यसअघि नेपालले भुटानलाई ६-१ र श्रीलंकालाई दुई खेलमा समान ७-० ले हराएको थियो भने बंगलादेशसँग ३-२ ले पराजित भएको थियो।

प्रकाशित: ३ श्रावण २०८२ १८:५६ शनिबार