खेल

नेपाल भलिबल लिग: सेबास्टियन चम्कँदा मधेसको पहिलो जित

भारतीय अलराउन्डर जिबिन सेबास्टियन चम्किएपछि मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा चौथो खेलमा पुगेर पहिलो जित रचेको छ।

मधेस वारियर्स यसअघिका तीन खेलसम्म पराजित टोली हो। चौथो खेलमा भने मधेसले पुछारको टोली खप्तड फाल्कोन्समाथि ३–० को सोझो सेटमा जित रच्यो। पहिलो सिजनमा कुल ६ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्दै छन्। जहाँ मधेस र खप्तड दुवै यो खेलअघि जितविहीन टोली हुन्। त्यसैले दुवै टोली मंगलबार पहिलो जित रच्ने लक्ष्यसहित कोटमा उत्रिए तर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मधेसले भारतीय अलराउन्डर सेबास्टियनको बलियो साथ पायो।

हरेक फ्रेन्चाइज टोलीले समान तीन विदेशी खेलाडी अनुबन्धित गरेका छन्। जहाँ खप्तडका विदेशी खेलाडी पनि प्रभावहीन बनेका छन्। डिफेन्समा पनि खप्तडले खराब प्रदर्शन ग¥यो।

रसियाका अपोजिट हिटर अर्टिम किसेलिभले फितलो प्रदर्शन जारी राखे। जसका कारण खप्तडमाथि दबाब बढेको छ। तेस्रो सेटमा प्रशिक्षक रूपेश विष्टले अर्टिमलाई बाहिर राख्दै सरोज बर्देवालाई अवसर दिएका थिए तर त्यतिखेर ढिला भइसकेको थियो। र मधेसले त्यसको फाइदा लियो। कप्तान धीरजकाजी बस्नेतले राम्रो प्रदर्शन गरे पनि खप्तडलाई जित दिलाउन सकेनन्। अफ्रिकन खेलाडी बस्को डेटेले पनि सुधारिएको प्रदर्शन गरे।

मधेसले भने भारतीय खेलाडीको साथ पाउँदा पहिलो जित निकाल्यो। मधेस तीन भारतीय खेलाडीको साथमा छ। यो खेलअघि यी तीन प्रभावशाली देखिएका थिएनन्। तर, प्लेअफमा पुग्न जित्नैपर्ने खेलमा भने तीन खेलाडी चले। चौथो खेलमा आएर मधेसको हारको शृंखला रोकियो।

तीनमध्ये तेस्रो सेटबाट खप्तडले खेलमा फर्कने आशा जगाएको थियो। यसमा पनि अर्टिम नै गल्ती गर्न पुगे। मधेसले पहिलो सेट २५–२१, दोस्रो २५–२० र तेस्रो २५–२३ ले आफ्नो बनायो। तीनै सेटमा खप्तडले अन्तिमसम्म चुनौती दिने प्रयास गर्‍यो तर अवसर सदुपयोग गर्न नसक्दा अहिलेसम्म एक सेट पनि जित्न सकेको छैन।

खप्तडका प्रशिक्षक विष्टले तेस्रो खेलमा सुधारिएको प्रदर्शन गरे पनि अवसर चुकाउँदा हार बेहोर्नुपरेको बताए। ‘दुई खेलको तुलनामा आज सुधारिएको प्रदर्शन भयो। अग्रता बनाउँदा आशामा थियौं तर त्यसलाई सदुपयोग गर्न सकेनौं। काउन्टर र सर्भिस बलमा लगातार गल्ती गर्‍यौं,’प्रशिक्षक विष्टले भने, ‘विदेशी खेलाडी चल्न नसक्दा कन्डिसन हेरेर नेपाली खेलाडीलाई पनि प्रयोग गरेको थिएँ।’

राम्रो प्रोफाइल भएको विदेशी खेलाडी नै चल्न नसक्दा आफ्नो टोली समस्यामा परेको उनले स्वीकार गरे। खप्तडका कप्तान धीरजकाजी बस्नेतले टोलीमा सुधार भएको र अबको दुई खेलमा ध्यान दिएर खेल्ने विश्वास व्यक्त गरे। मधेसका प्रशिक्षक भरत यादवले सबै खेलाडीले आफ्नो भूमिका राम्रो गर्दा जित सम्भव भएको बताए। ‘यसअघि जितनजिक पुगेर पनि चुकेका थियौं। आज समग्रमा सबै पक्षमा सुधार भयो। खेलाडीले पनि जिम्मेवारीअनुरूप प्रदर्शन गरे। सबै उच्च आत्मबलका साथ खेल्दा जित सम्भव भयो,’ प्रशिक्षक यादवले भने।

पहिलो सेटमा भारतीय खेलाडीले प्रभाव जमाउँदा मधेसले अग्रता लिएको हो। तर, दोस्रो सेटमा भने खप्तडले चुनौती दियो। यो सेट पनि खप्तडले २५–२० ले गुमाउन पुग्यो।

सुरुमा पछि परेको खप्तडले १६–१६ को स्थितिसम्म चुुनौती दियो। मधेसका लिफ्टर उक्रापान्डियन मोहनले प्लेसिङ गर्दै अग्रता दिलाए। यससँगै मधेस १७–१६ ले अगाडि बढ्यो र खप्तड दबाबमा पर्‍यो। यसपछि खप्तड खेलमा फर्कन सकेन र अन्ततः यो सेट पनि गुमायो। तेस्रो सेट भने खप्तडले आफ्नो बनाउने संकेत गर्‍यो तर २२–२२ को स्थितिमा जोगाउन सकेन। खप्तडका रसियन खेलाडी अर्टिमले सर्भिस बाहिर हाने। यससँगै मधेसले सेटमा अग्रता लिने अवसर पायो। यो गल्तीले नै खप्तडको खेलमा फर्कने लक्ष्य पूरा सकेन। अन्ततः मधेसले २५–२३ ले सेट आफ्नो बनाउँदै पहिलो जित रच्यो। तेस्रो खेलमा खप्तडको तेस्रो हार हो। मधेसले चौथो खेलमा पहिलो जित रच्यो र प्लेअफ सम्भावना जीवन्त राख्यो।

मधेसको जितमा जिबिन सेबास्टिन म्यान अफ दी म्याच भए। मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१, दोस्रो खेलमा काठमाडौं रेड्ससँग ३–२ र तेस्रो खेलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग ३–१ को सेटमा पराजित भएको थियो। चार खेलबाट मधेसको चार अंक भएको छ।

खप्तडले भने तीन खेलसम्म अंकको खाता खोल्न सकेको छैन। केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। लिगको विजेताले २० लाख प्राप्त गर्नेछ। सिंगल राउन्ड रोबिनका आधारमा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलका लागि प्लेअफ खेल्नेछन्।  

प्रकाशित: २४ भाद्र २०८३ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App