खेल

नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित हासिल गर्ने क्रममा उसले आज मधेस वारियर्सलाई ३-१ को सेटको अन्तरले हराएको हो ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा अन्नपूर्णले पहिलो सेट १६-२५ ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेटमा भने मधेस वारियर्स ३१-२९ ले विजयी भयो । तेस्रो र चौथो सेटमा मधेस क्रमशः २२-२५ र २१-२५ ले पराजित भयो ।  

मधेसले पहिलो खेलमा सगरमाथा स्म्यासर्सविरुद्ध ३-१ को पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा काठमाडौं रेड्सविरुद्ध ३-२ ले पराजित भएको थियो । पहिलो खेलमा कर्णाली शिवराजविरुद्ध ३-१ ले पराजय व्यहोरेको अन्नपूर्णले दोस्रो र तेस्रो खेलमा भने लगातार जित हासिल गरेको छ । उसले आइतबार काठमाडौं रेड्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।  

छ टोलीले प्रतिस्पर्धा गरिरहेको एनभिएल २०२६ सिङ्गल राउन्ड रोबिन लिग पद्धतिअनुसार सञ्चालन भइरहेको छ । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको विजेता टोलीले रु २० लाख पाउने आयोजक केडिया ग्रुपले जनाएको छ ।

 

प्रकाशित: २२ भाद्र २०८३ २०:४४ सोमबार