एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रिन लागेको हो।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ। समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमै बहराइनलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्य राखेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसीलगायत अनुभवी तथा युवा खेलाडी रहेका छन्।
नेपालका लागि कप्तान सन्दीपको स्पिन बलिङसँगै दीपेन्द्रसिंह ऐरी र गुल्सन झाको प्रदर्शन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। ब्याटिङतर्फ आसिफ, रोहित र देव खनालबाट टोलीले ठूलो योगदानको अपेक्षा गरेको छ।
प्रतियोगितामा नेपालले बहराइनपछि मलेसिया, साउदी अरेबिया र हङकङसँग खेल्नेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका लागि बहराइनविरुद्धको सुरुवाती खेल निकै महत्वपूर्ण मानिएको छ।
एसीसी प्रिमियर कपको उपाधि हात पार्न सके आगामी एसिया कपको ढोका सम्म खुल्ने भएकाले गर्दा नेपाली टोली दबाबसँगै उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा छ।
प्रकाशित: १५ भाद्र २०८३ ०५:५४ सोमबार