टी–२० विश्वकप छनोटको तयारी अभ्यासस्वरुप अस्ट्रेलियामा क्रिकेट खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो हार व्यहारेको छ। शनिबार डर्बिनमा भएको खेलमा बांग्लादेश ‘ए’सँग ब्याटर नचल्दा नेपालले हार व्यहारेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको बांग्लादेशी टोलीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८६ रन जोडेको थियो। जसमा जिशन आलमले ७३ र अफिफ आलमले ४८ रनको योगदान दिएका थिए। बलिङमा नेपालका रिजन ढकालले दुई, करन केसी, सन्दीप लामिछाने र नन्दन यादवले एक एक विकेट लिएका थिए।
१८७ रन पछ्याएको नेपाली टोलीका ब्याटर सुरुदेखि नै टिकेर खेल्न सकेनन्। भरपर्दा ब्याटरहरू कुशल भुर्तेल १२, आशिफ शेख २८, लोकेश बम १६, कप्तान रोहित पौडेल १०, दीपेन्द्रसिंह ऐरी १, गुल्शन झा शून्य रनमै आउट हुन पुगे।
कुशल मल्लले भने अन्तिमसम्म लडेर ४७ बलमा ५९ रन जोडे। अन्तिममा उनलाई साथ दिएका नन्दन यादवले १४ रन जोडेकाले नेपाल ७ विकेट गुमाएर १५४ रनसम्म पुग्यो।
यसअघि अस्ट्रेलियाको नर्दन टेरिटोरीसँग खेलेको खेलमा नेपाल ४३ रनले पराजित भएको थियो। अस्ट्रेलियामा नेपालले अभ्यास स्वरूप टप एन्ड टी–२० सिरिज खेलिरहेको छ।
प्रकाशित: ३१ श्रावण २०८२ १९:०८ शनिबार