अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एन्ड टी-२० सिरिज’ अन्तर्गतको छैटौं खेलमा नेपालले बंगलादेश एचपी–११ लाई जितका लागि १०० रनको सामान्य लक्ष्य दिएको छ।
डार्विनस्थित मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९९ रन बनाउन सक्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४६ रनको इनिङ खेले। उनले ४० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। भुर्तेलबाहेक नेपालका अन्य कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपालको ब्याटिङ सुरुवात निकै खराब रह्यो। टोलीले सुरुवाती ३.६ ओभरमै मात्र १३ रन जोड्दा शीर्ष क्रमका ५ विकेट गुमाइसकेको थियो।
ओपनर त्रितराज दास ६ रनमा आउट हुँदा कप्तान अनिल साह र पवन सर्राफ शून्य रनमै पेभेलियन फर्किए। यस्तै, कुशल मल्ल १ रन तथा लोकेश बम २ रनमा आउट भएपछि नेपाल चरम दबाबमा परेको थियो।
मध्यक्रम र तल्लो क्रममा सहाब आलमले २३ बलमा ११ रन र विपिन खत्रीले ११ बलमा अविजित ११ रन जोडे। यसैगरी, रिजन ढकालले १० रन र आकाश चन्दले अविजित ५ रन बनाए भने नारायण जोशी १ रनमा रनआउट भए।
बंगलादेश एचपीका बलरहरू नेपाली ब्याटरमाथि पूर्ण रूपमा हाबी भए। बलिङतर्फ बंगलादेशका मोहम्मद रुबेलले घातक बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।
यस्तै, रोहनत दौल्लाह बोर्सन, रिपोन मन्डोल र समिउन बासिरले समान १/१ विकेट हात पारे।
१०० रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश एचपी–११ ले आक्रामक सुरुवात गरेको छ। ताजा अवस्थामा बंगलादेशले ७.५ ओभरमा १ विकेट गुमाएर ७८ रन बनाइसकेको छ र जितका लागि ७३ बलमा २२ रन मात्र आवश्यक छ।
प्रकाशित: ६ भाद्र २०८३ १६:४२ शनिबार