खेल

टप एण्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको छ। एकेडेमीको दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रनमा समेटियो । 

नेपालका लागि आसिफ शेखले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए। त्यस्तै  कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे।आक्रामक ब्याटिङ गरेका कुशल भुर्तेल १३ बलमा ४ चौका मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो।  मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले  सर्वाधिक ७४ रन बनाए भने थोमस रोजर्सले ६५ रन बनाए। 

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए। यसअघि नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसंग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ए सँग पराजित भएको थियो। नेपालले अर्को खेल  होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

प्रकाशित: २ भाद्र २०८२ ११:१८ सोमबार