खेल

आइसिसी टी ट्वान्टी विश्वकप: नेपालको सुपर आठ सम्भावना समाप्त

वेस्ट इन्डिजलाई नतिजा सुम्पिएपछि नेपालको भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना सकिएको छ।

यो हारसँगै समूह ‘सी’ को नेपालको जारी विश्वकपमा सुपर आठको सम्भावना समाप्त हुँदा वेस्ट इन्डिज भने लगातार तेस्रो जित निकाल्दै दोस्रो चरणमा पुग्न सफल भएको छ। मुम्बईमा भएको तेस्रो खेलमा खराब ब्याटिङपछि नेपालले वेस्ट इन्डिजसँग ९ विकेटको फराकिलो हार बेहोरेको हो।

यसअघि नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो। इटालीविरुद्ध खराब ब्याटिङ सामना गरेको नेपालले तेस्रो खेलमा पनि सोही खराब लय दोहोर्‍यायो। दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए पनि पर्याप्त भएन। उनले ५८ रन जोडे। नेपालको तेस्रोपल्टसम्मको विश्वकप सहभागितामा यो नै सर्वाधिक व्यक्तिगत ठूलो स्कोर हो।

यसअघि सुवास खकुरेलले सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ५६ रनको अर्धशतकीय इनिङ बनाएका थिए। जारी विश्वकपमा दीपेन्द्रले पहिलो अर्धशतक बनाए पनि नेपालको तेस्रो हार टरेन। यसै खेलबाट सोमपाल कामीले पनि तेस्रोपल्ट विश्वकपमा सहभागिता जनाए।

वाङ्खेडे स्टेडियममा नेपालले एक सय ३४ रनको कमजोर लक्ष्य दिएको थियो। वेस्ट इन्डिजले त्यो लक्ष्य १५.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो। जितपछि सेई होपले नेपाल राम्रो टोली रहेको तर आज आफ्नो टोलीले राम्रो खेलेको बताए। यही प्रदर्शन आगामी खेलमा पनि जारी राख्ने उनको विश्वास छ। उनले आगामी दिन नेपालजस्तो एसोसिएट राष्ट्रसँग खेल्न पनि तयार रहेको उल्लेख गरे।

शीर्ष तीन ब्याटर चम्किएपछि वेस्ट इन्डिजले सामान्य लक्ष्य सहजै भेट्टायो। ओपनर तथा कप्तान सेई होपले ६१ रनको अर्धशतकीय इनिङ खेले। उनले ४४ बलमा  पाँच चौका र तीन छक्का हिर्काए। सिमरन हेटमायर ३२ बलमा ४६ रनमा अविजजित रहे। उनले चार चौका र दुई छक्का हिर्काए। यी दुईले दोस्रो विकेटका लागि ९२ रनको साझेदारी बनाएका थिए। त्यसअघि पहिलो विकेट नन्दन यादवले दिलाएका थिए। छैटौं ओभरमा ओपनर ब्रान्डन किङ २२ रनमा आउट भए। उनले १७ बलमा चार चौका हिर्काए। नेपालको बलिङमा नन्दनले तीन ओभरमा एक विकेट लिए। तीन अनुभवी बलर सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी विकेटविहीन भए।

तेस्रोपल्ट (सन् २०१४, २०२४ र २०२६) विश्वकप खेलेका सोमपालले कमजोर इनिङमा साथ दिएका थिए। बलिङमा भने उनले प्रभाव जमाउन सकेन। सोमपालले तेस्रो खेलमा नै अवसर पाएका हुन्। हारपछि सोमपालले आजको खेलमा टस हार्नु महŒवपूर्ण क्षण रहेको उल्लेख गरे। ‘टस हार्नुले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। यहाँ फरक कन्डिसन थियो। वेस्ट इन्डिज बलियो टोली हो। हामीले आज राम्रो खेल्न सकेनौं र हार बेहोर्‍यौं,’ उनले भने।

उनले पछिल्लो संस्करणको तुलनामा यसपल्ट राम्रो प्रदर्शन गर्न नसकेको पनि स्वीकार गरेका छन्। विश्व क्रिकेटको मञ्चमा यो स्तरको प्रदर्शन सही नभएको उनको भनाइ छ। त्यसअघि टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोज्यो।

जुन निर्णय नेपालका लागि कठिन बन्यो। दीपेन्द्रको अर्धशतकमा नेपालले एक सय ३३ रनको योगफल बनायो। एक समय नेपाल ४६/५ को कमजोर अवस्थामा पुग्यो। दीपेन्द्रको अर्धशतकीय इनिङपछि नेपाल सम्मानजनक योगफलतर्फ अग्रसर भएको हो। उनले छैटौं विकेटका लागि गुलसन झासँग २५ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउने प्रयास गरे। १५औं ओभरमा ठूलो सट खेल्ने चक्करमा गुलसन बोल्ड भए। उनी ११ रनमा आउट भए। नेपाल ७३/६ को नाजुक अवस्था पुग्यो। तर, दीपेन्द्रले सातौं विकेटका लागि सोमपाल कामीसँग ५४ रनको महत्त्वपूर्ण साझेदारी गरे। यो साझेदारीसँगै नेपालको इनिङ सय रनको आँकडा पार गरेको हो।

१७औं ओभर सकिँदा नेपाल ९२/६ को अवस्थामा थियो। अन्तिम तीन ओभरमा दीपेन्द्र र सोमपालको आक्रामक ब्याटिङ गरे र नेपालले ४१ रन जोड्यो। त्यसअघि नेपालको सुरुआत निकै खराब रह्यो। पहिलो ओभरमै ओपनर कुशल भुर्तेल १ रनमा पभेलियन फर्किए। स्पिनर अकिल हुसेनले उनलाई बोल्ड गरे। त्यो विकेटसँगै दबाबमा परेको नेपाल समालिन सकेन।

पावर प्लेमा नेपालले कुशलसँगै तीन विकेट गुमाउन पुग्यो। कप्तान रोहित पौडेल ५ रन र आसिफ शेख ११ रनमा पभेलियन फर्किए। तेस्रो ओभरमा म्याथ्यु फोर्डेले रोहितलाई एलबिडब्लु सिकार बनाए। पाँचौं ओभरमा जेसन होल्डरले आसिफलाई पभेलियन फर्किए। यो विकेटपछि नेपाल दबाबमा पर्‍यो। साथै क्यारेबियन बलरले कसिलो बलिङ पनि गरे।

पावरप्लेमा नेपालले २२ रन मात्र जोड्न सक्यो। यसमा तीन बाउन्ड्री तीन चौका मात्र समावेश थियो। सातौं ओभरमा आरिफ शेख पनि २ रनमा नै पभेलियन फर्किए। पाँचौं विकेटपछि नेपालले सुस्त ब्याटिङ गर्‍यो तर पनि विकेट जोगाउन सकेन। ११औं ओभरमा लोकेश बम पाँचौं विकेटका रूपमा आउट भए। उनले १३ बलमा दुई चौकासहित ११ रन जोडे।

वेस्ट इन्डिजको बलिङमा जेसन होल्डरले चार विकेट तथा अकिल, फोर्डे, समर जोसेफ र रोस्टन चेजले समान एक विकेट निकाले। फोर्डेले चार ओभरमा एक मेडन राख्दै १० रन मात्र दिए। समूहको अन्तिम खेल वेस्ट इन्डिजले इटाली र नेपालले स्कटल्यान्डसँग खेल्नेछ।  

प्रकाशित: ४ फाल्गुन २०८२ ०७:३४ सोमबार