नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटले विश्वकै प्रतिष्ठित ‘अल्टिमेट फाइटिङ च्याम्पियनसिप’ (युएफसी) को छनोट प्रतियोगिता ‘रोड टु युएफसी’ सिजन ५ मा आज प्रतिस्पर्धा गर्दैछन्।
चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा आयोजना हुने यस प्रतियोगिताको ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा रविन्द्रले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनको सामना गर्ने तय भएको हो।
खेल नेपाली समयअनुसार ३:४५ मा सुरु हुँदैछ।
युएफसीको मुख्य स्टेजसम्म पुग्ने वैधानिक बाटो मानिने ‘रोड टु युएफसी’ मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने रविन्द्रले आफ्नो तौल समूहमा सफलता हात पारेमा युएफसीको मुख्य मञ्चमा स्थान सुरक्षित गर्ने ऐतिहासिक अवसर पाउनेछन्।
रविन्द्रको व्यावसायिक एमएमए करियरको तथ्याङ्क निकै प्रभावशाली छ। उनले हालसम्म खेलेका १० प्रोफेसनल फाइटमध्ये ९ मा सानदार जित हात पारेका छन् भने मात्र १ खेलमा हार ब्यहोरेका छन्।
उनका आजका प्रतिस्पर्धी फिलिपिन्सका किम्बर्टले भने हालसम्म ७ खेलमा जित र ३ खेलमा पराजयको नतिजा निकालेका छन्।
प्रारम्भिक खेल तालिकाअनुसार रविन्द्रको सामना म्याटी इआनसँग हुने तय भएको थियो। तर, इआन चोटग्रस्त भएपछि उनको स्थानमा आयोजकले अलिन्टोजोनलाई ल्याएका हुन्।
अन्तिम समयमा प्रतिस्पर्धी फेरिए पनि रविन्द्रको तयारी र आत्मविश्वास उच्च रहेको टिम स्रोतले जनाएको छ। टिमका अनुसार उनले आफ्नो फिटनेस, रणनीति र मानसिक तयारीमा कुनै कसर बाँकी राखेका छैनन्।
२७ वर्षीय रविन्द्रले गत वर्ष भारतको ग्रेटर नोइडामा सम्पन्न ‘मेट्रिक्स फाइट नाइट १७’ (एमएफएन) मा भारतीय खेलाडी चुङरेन कवरेनलाई नकआउट गर्दै ब्यान्टमवेट टाइटल जितेका थिए।
सोही ऐतिहासिक जितसँगै उनी नेपाली एमएमए क्षेत्रमा सबैभन्दा चर्चित र सफल फाइटरका रूपमा स्थापित भएका हुन्।
प्रकाशित: १४ जेष्ठ २०८३ १५:४९ बिहीबार



