नेपालले श्रीलंकामा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा लगातार पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।
श्रीलंकाको राजधानीमा कोलम्बोमा नेपाली लिफ्टरहरूले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै धेरै संख्यामा स्वर्ण, रजत र कांस्य पदक जितेका हुन् ।
च्याम्पियनसिपमा पहिलो दिनदेखि नै नेपाली पावरलिफ्टरले आफ्नो प्रभाव जमाए । नेपालले २६ स्वर्ण, १० रजत र पाँच कांस्य पदक गरी कुल ४१ पदक प्राप्त गरेको नेपाली टोलीका म्यानेजर डेविड प्रधान र रुजेश शाहीले जानकारी दिए ।
यस विश्व च्याम्पियनसिपमा कुल १२ देशका दुई सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका लागि डा. जितेन्द्रकुमार साहले दोहोरो स्वर्ण पदक जिते । उनले ६९ बेन्च मास्टर्स (४०–४४) र ६९ डेड लिफ्ट मास्टर्स (४०–४४) तथा लक्ष्मी महर्जनले पनि बेन्च र ५३ केजी (४४–४४) मा पदक जितिन् ।

त्यस्तै शुकदेव कार्कीले ६९ केजी खुलामा स्वर्ण पदक जित्दा भेषकुमारी अस्लामीले पनि दुई स्वर्ण पदक जितिन् । भेषकुमारीले ७२ केजी मास्टर्स र ओपनमा स्वर्ण पदक जितेकी हुन् । च्याम्पियनसिपमा पुरुषतर्फ बेस्ट लिफ्टरको उपाधि नेपालकै शुकदेव कार्कीले पाए । उनले २४० केजी स्क्वाट, १३८ केजी बेन्च प्रेस र २६४ केजी डेडलिफ्ट गरी कुल ६४२ केजीको अविश्वसनीय लिफ्ट प्रदर्शन गरेका थिए ।
उनको यो लिफ्ट नेपालीका लागि सबैभन्दा गौरवपूर्ण र प्रेरणादायी क्षण बनेको धारणा राखे । महिलातर्फ शर्मिला शाहले बेस्ट लिफ्टरको उपाधि जितिन् । उनी नेपालको महिला पावरलिफ्टिङ इतिहासमा नयाँ अध्याय लेख्न सफल भइन् । नेपाल पावर लिफ्टिङ संघ र नेपाली युथ फिटनेस एन्ड क्यालिसथेनिक्स (एनवाइसी नेपाल) ले विश्व च्याम्पियनसिमा नेपाली टोलीको प्रतिस्पर्धा गराएको हो ।
प्रकाशित: १५ मंसिर २०८२ २१:४८ सोमबार