खेल

एसियाली एक्वेटिक्समा नेपालको चुनौती

नेपालका ११ पौडीबाजले भारतमा हुने एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११औं संस्करणमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

भारतको अहमदाबादमा आगामी सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म एसियाली एक्वेटिक्स हुँदै छ। उक्त च्याम्पियनसिपमा ११ पुरुष र पाँच महिला खेलाडीले नेपालका तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका हुन्। खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ।

पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असीम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्नेछन्।

महिलामा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्ने छन्। नेपाली टोलीको प्रशिक्षण शंकर कार्कीले गर्नेछन्। अफिसियलमा दीपक सागर सिंह महर्जन, नवीना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बुधबार एक कार्यक्रमबीच टोलीलाई सातदोबाटोमा बिदाइ गरेका थिए।  

प्रकाशित: ९ आश्विन २०८२ ०८:४५ बिहीबार