खेल

साउदी अरेबियाविरुद्ध भिड्दै नेपाल, तेस्रो जित निकाल्दै सेमिफाइनल यात्रा सुरक्षित गर्ने लक्ष्य

फाइल तस्बिर

एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत हुने खेल अहिले बिहान ७ः१५ मा सुरू हुनेछ। नेपाल लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदैछ।

नेपाल र साउदी अरेबियाबीचको खेल क्वालालम्पुरस्थित बायुएमास ओभलमा हुनेछ। नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गर्दै समूहको दोस्रो स्थानमा रहेको छ।  

यता साउदी अरेबियाले प्रतियोगिताको पहिलो खेलमा हङकङसँग १६ रनको हार बेहोरेको थियो। त्यसपछि मलेसियासँग ९३ रनले पराजित भएको साउदीले पछिल्लो खेलमा बहराइनलाई १७ रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

समूह ‘ए’ मा नेपाल दुई खेलबाट चार अंकसहित बलियो अवस्थामा छ। पहिलो स्थानमा रहेको हङकङ भन्दा नेपालले एक खेल कम खेलेको छ। तर, आज नेपालले साउदीलाइ पराजित गर्न सके दोस्रो स्थानका लागि हङकङ, मलेसिया, साउदी अरेबिया र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। त्यसैले आज साउदीविरुद्धको खेल नेपालका लागि अंक तालिकाको शीर्ष स्थान बलियो बनाउने मात्र नभई सेमिफाइनल यात्राका लागि पनि महत्वपूर्ण हुनेछ।

नेपालले आज साउदी अरेबियालाई पराजित गर्न सके समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनल प्रवेशको बाटो निकै सहज बनाउनेछ। नेपालले समूह चरणको अन्तिम खेलमा ८ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रकाशित: २१ भाद्र २०८३ ०६:१९ आइतबार