खेल

टप एन्ड टी-२० मा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ।

डार्विनस्थित गार्डेन्स ओभलमा भएको खेलमा १९८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९.२ ओभरमा १६६ रनमै समेटियो। पहिले ब्याटिङ गरेको हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो। उसका लागि सेहान जयसूर्याले ४४ बलमा ६७ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ४ चौका र ५ छक्का प्रहार गरे। शायन जहाँगीरले २७, मिलिन्द कुमारले २५ तथा हम्माद आजमले अविजित २६ रन थपे।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक रन बनाउँदै ४६ बलमा ६६ रन जोडे। उनले ६ चौका र ४ छक्का प्रहार गरे। त्यसपछि मध्य तथा तल्लो क्रममा नेपालका ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा टोली ३१ रनले पराजित भयो।

बलिङतर्फ नेपालका नारायण जोशीले २ विकेट लिए भने राशिद खान र पवन सर्राफले समान १ विकेट हात पारे। हैदराबादका स्कट कुग्लेइन नेपालका लागि सबैभन्दा घातक बने। उनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।

यस हारसँगै नेपाल ‘ए’को सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ।

प्रकाशित: ११ भाद्र २०८३ १३:१४ बिहीबार