अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’ मा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो।
क्यानका उपाध्यक्ष रोशनकुमार सिंह तथा केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दलगायतका पदाधिकारीहरूले खेलाडीहरूलाई सफलताको शुभकामनासहित बिदाइ गरे।
बिदाइका क्रममा उपाध्यक्ष सिंहले टोलीबाट उत्कृष्ट नतिजाको अपेक्षा गरिएको बताए। ‘नेपाली टोलीले जित्दा सबैले प्रशंसा पाउँछौं, तर हार्दा खेलाडीभन्दा बढी प्रश्न क्यानमाथि तेर्स्याइन्छ,’ उपाध्यक्ष सिंहले भने, ‘यसपालि हाम्रा खेलाडीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेमा हामी पूर्ण विश्वस्त छौं।’
अनिलकुमार साहको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा कुशल भुर्तेल, लोकेश बम, मयन यादव, तृतराज दास, कुशल मल्ल, राशिद खान, पवन सर्राफ र दीपक डुम्रे रहेका छन्।
त्यस्तै शाहब आलम, विपिन खत्री, रिजन ढकाल, नारायण जोशी, आकाश चन्द र युवराज खत्री पनि टोलीमा समेटिएका छन्। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा आगामी अगस्ट २१ देखि सुरु हुने प्रतियोगितामा नेपाल ‘ए’ ले लिग चरणमा ६ खेल खेल्नेछ।
प्रतियोगिताको उद्घाटन खेलमै नेपालले अगस्ट २१ मा घरेलु टोली ‘एनटी स्ट्राइक’ को सामना गर्ने तालिका छ। नेपालले यस सिरिजमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो।
प्रकाशित: ३१ श्रावण २०८३ २१:११ आइतबार