अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) कमेट्ससँग प्रतिस्पर्धा गर्दैछ। डार्विनमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
नेपाल ‘ए’ पछिल्लो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेपछि उच्च मनोबलका साथ मैदान उत्रिँदैछ। त्यसअघि नेपाल ‘ए’ एनटी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्ससँग पराजित भएको थियो।
अब एसीटी कमेट्सविरुद्ध जित निकाल्दै नेपाल ‘ए’ लगातार दोस्रो सफलता हासिल गर्ने लक्ष्यमा हुनेछ। प्रतियोगितामा प्रत्येक टोलीले समूह चरणमा ६ खेल खेल्नेछन् र नेपालका लागि आजको खेल पनि महत्वपूर्ण रहेको छ।
नेपाल ‘ए’ को टोलीमा अनिल साहको कप्तानीमा कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, पवन सर्राफ, शाहब आलम, आकाश चन्दलगायत खेलाडी रहेका छन्।
एसीटी कमेट्सविरुद्धको खेलपछि नेपाल ‘ए’ ले भोलि एचएच किङ्समेनसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका छ।
प्रकाशित: १० भाद्र २०८३ ०६:२५ बुधबार