खेल

नेपाल ‘ए’ आज अन्तिम लिग खेलमा, जित निकाल्ने लक्ष्य

फाइल तस्विर

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज आफ्नो अन्तिम लिग खेल खेल्दैछ। नेपाल ‘ए’ ले भिक्टोरिया क्रिकेट एकेडेमीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ।

नेपालले प्रतियोगितामा अहिलेसम्म पाँच खेल खेल्दा दुई जित र तीन हारको नतिजा निकालेको छ। चार अंकसहित रहेको नेपाल ‘ए’ आजको खेल जित्दै प्रतियोगिताकाे सेमिफाइनल यात्राको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ।

अर्कोतर्फ भिक्टोरिया क्रिकेट एकेडेमीले पाँच खेलबाट चार जित निकाल्दै आफूलाई बलियो टोलीका रूपमा प्रस्तुत गरेको छ। त्यसैले नेपाल ‘ए’ का लागि आजको खेल सहज भने हुनेछैन। लिग चरणको अन्तिम खेलमा राम्रो प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्यसहित नेपाल ‘ए’ मैदान उत्रनेछ।

प्रकाशित: १३ भाद्र २०८३ ०६:३१ शनिबार