खेल

नासा पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजक

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजकको रूपमा नासा सेक्युरिटिज जोडिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन मार्फत नेपाली राष्ट्रिय पुरुष क्रिकेटको जर्सीमा नासा सेक्युरिटिजलाई भित्र्याएको हो। प्रायोजनका लागि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

आगामी तीन वर्षका लागि नासा सेक्युरिटिज नेपाली क्रिकेटसँग जोडिएको छ। यसबापत नासाले नेपाल क्रिकेट संघ (क्यान) लाई वार्षिक रूपमा दुई करोड ३६ लाख रूपैयाँ दिने भएको छ। सोही कार्यक्रममा नासा सेक्युरिटिजको लोगो अंकित नेपाली राष्ट्रिय टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो।

अब नेपाली खेलाडीले लगाउने जर्सी नासा सेक्युरिटिजको हुनेछ। सो अवसरमा क्यानका सचिव पारस खड्काले सम्झौता रकमबारे उल्लेख गर्दै यो सहकार्यले नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु भएको विश्वास व्यक्त गरे।

क्यानका अध्यक्ष चन्दले पछिल्लो समय नेपाली क्रिकेटले राम्रो गरिरहेको र खेलाडीहरू पनि क्यानको आन्तरिक राजनीतिमा नअल्झीकन आफ्नो खेलमा मात्र ध्यान केन्द्रित गर्न सुझाव दिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै नेपाली खेलकुदमा राम्रो गरिरहेको क्रिकेट र बित्तीय क्षेत्रमा अग्रणी काम गरिरहेको नासा जोडिनु सुखद पक्ष रहेको बताए।

नेपाली खेलकुद ऐनमा नै निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत अनिवार्य रूपमा जोड्न सके नेपाली खेलकुदको विकास सम्भव रहेको उनको भनाइ छ।

नेपाली टोली अस्ट्रेलिया प्रस्थान

सोही कार्यक्रममा अस्ट्रेलियामा बुधबारदेखि सुरु हुने टप इन्ड टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्। आइसिसी टी ट्वान्टी विश्वकप छनोटको तयारीका लागि नेपाली टोलीले अस्ट्रेलियामा यो सिरिज खेल्दै छ। सो अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप तयारीका लागि यो प्रतियोगिता महत्त्वपूर्ण हुने आशा व्यक्त गरे। साथै उनले टिम बिल्डअपमा अस्ट्रेलिया भ्रमणले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। नेपाली टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ। नेपाल पहिलोपल्ट यस सिरिजमा सहभागी हुन लागेको हो। यस सिरिजमा नेपालको मात्र राष्ट्रिय टोली सहभागी छ।

त्यसबाहेक पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान, बिबिएलका टोली हबर्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार र मेलवर्न रेनेगड्सका एकेडेमीलगायत कुल ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीच उद्घाटन खेल हुनेछ।

नेपालले आफ्नो पहिलो खेल आगामी अगस्ट १५ मा आयोजक एनटी स्ट्राइकसँग खेल्नेछ। रोहितको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुल्सनकुमार झा, भीम सार्की, कुशल मल्ल, रूपेशकुमार सिंह, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दनकुमार यादव, रिजन ढकाल, ललितनारायण राजवंशी र लोकेश बम छन्। ललितलाई मातृशोक परेकाले उनको स्थानमा साहब आलमलाई टोलीमा समावेश गरिएको छ।

प्रकाशित: २६ श्रावण २०८२ ०८:०२ सोमबार