महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छन्।
कर्णाली प्रदेशमा आयोजना हुने महाउत्सवका रूपमा हेरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण र व्यवस्थापकीय प्रगतिको स्थिति बुझ्न मन्त्री बादी रङ्गशाला परिसर पुगेकी हुन्।
अनुगमनका क्रममा उनले खेल मैदान, प्याराफिट र अन्य आवश्यक पूर्वाधारहरूको निर्माण तथा व्यवस्थापकीय प्रगतिको बारेमा सरोकारवालाहरूसँग विस्तृत जानकारी लिएकी छन्।
प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन खेलाडीहरूका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन र अन्य सेवा-सुविधाका विषयमा मन्त्री बादीले विशेष चासो व्यक्त गरेकी छन्।
राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, खेल क्षेत्रको समग्र विकास र राष्ट्रिय एकता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले तोकिएको समयमै सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएकी छन्।
कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको यस राष्ट्रियस्तरको प्रतियोगिताले यस क्षेत्रको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान स्थापित गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।
मन्त्री बादीले प्रतियोगिताको भव्य सफलताका लागि शुभकामना व्यक्त गर्दै कर्णालीवासीले यसलाई गौरवको विषयका रूपमा लिनुपर्ने बताएकी छन्।
प्रकाशित: २१ कार्तिक २०८३ ११:५६ शनिबार