खेल

अन्तिम समयमा मेस्सीको भारत भ्रमण रद्द

अर्जेन्टिना फुटबल टोली र स्टार खेलाडी लियोनेल मेस्सीले अर्को महिना गर्ने भनिएको भारत भ्रमण रद्द भएको छ। यो सँगै लियोनेल मेस्सीको अर्जेन्टिनी टोलीले अब अर्को महिना केरलामा तय भएको खेल नखेल्ने भएको हो। 

यो खेल नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरू रंगशालामा हुने तालिका थियो। तर अब फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा आयोजना हुनेछ।  

यो जानकारी यस मैत्रीपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमा दिएका छन्।  

एन्टो अगस्टिनले फेसबुकमा लेखेका छन्, ‘खेलको लागि फिफाको अनुमति प्राप्त गर्न ढिलाइ भएको थियो, जसले गर्दा अर्जेन्टिना फुटबल संघ (एएफए) सँगको बैठकपछि यो निर्णय गरिएको हो।’  

यस खेलको घोषणा केरलाका खेलकुद मन्त्रीले गरेका थिए। यद्यपि मन्त्रीले एक पटक खेल रद्द भएको बताएका थिए। तर अगस्टमा एएफएले टोली कोच्चिमा खेल्ने पुष्टि गरेको थियो। अब खेल रद्द गरिएको छ। एजेन्सी

प्रकाशित: ८ कार्तिक २०८२ १३:४१ शनिबार