मीना देउवाको ह्याट्रिक प्रेरणामा नेपालले श्रीलंकामाथि सहज विजयका साथ जारी साफ यु–२० महिला च्याम्पियनसिपमा दोस्रो जित आत्मसात् गरेको छ।
बंगलादेशको ढाकामा भारी वर्षा हुँदा निर्धारित समयभन्दा एक घण्टा ढिला गरी मात्र खेल सुरु भएको थियो। ढाकास्थित वसुन्धरा किङ्स एरिनामा भएको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकामाथि ७–० को फराकिलो जित निकालेको हो।
मीना देउवाले ह्याट्रिक पूरा गर्दा पूर्णिमा राईले दुई गोल, सरिताकुमारी नाथ र समीक्षा मगरले समान एक गोल गरे। डबल राउन्ड रोबिन लिगमा जारी च्याम्पियनसिपमा नेपालको तेस्रो खेलमा यो दोस्रो जित पनि हो। यसअघि पहिलो खेलमा नेपालले भुटानमाथि ६–१ र बंगलादेशले श्रीलंकामाथि ९–१ को फराकिलो जित निकालेका थिए। दोस्रो खेलमा नेपाल डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३–२ ले पराजित हुन पुगेको थियो।
मंगलबार नै भएको तेस्रो खेलमा बंगलादेशले पनि भुटानमाथि ४–१ को जित निकालेको छ। श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा पाँच र दोस्रो हाफमा दुई गोल गर्यो। आठौं मिनेटमा मीनाको उत्कृष्ट गोलबाट नेपालले खेलमा अग्रता लिएको थियो। सुशीला केसीले दिएको पास लिँदै मीनाले पेनाल्टी बक्सबाहिरबाट दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरिन्। १३औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो।
पेनाल्टी बक्समा श्रीलंकाका खेलाडीले क्लियर गर्न नसकेको बललाई सदुपयोग गर्दै समीक्षा मगरले गोल गरेकी हुन्। पूर्णिमा राई दिएको बललाई करिब १८ यार्ड टाढाबाट समीक्षाले गरेको सशक्त प्रहार जाली चुम्न पुग्यो। ४२औं मिनेटमा मीनाले अग्रता दोब्बर बनाइन्।
करिब २२ यार्डबाट माया मास्केले दोस्रो बार च्याप्दै गरेको प्रहार श्रीलंकाकी गोलकिपर थारुसिकाले डाइभ गर्दै रोकिन्। तर, उनले पूर्ण रूपमा नियन्त्रणमा राख्न नसकेको बललाई मीनाले वान टच मार्फत जाली चुमाइन्।
पहिलो हाफको थप समयमा नेपालले दुई गोल थप्यो। काउन्टर अट्याकमा पूर्णिमा राईले गोल गरेकी हुन्। वर्षा ओलीले मध्यभागबाट दिएको थ्रु बललाई नियन्त्रणमा लिँदै पूर्णिमाले ड्रिब्लिङ गर्दै बललाई जाली चुमाइन्। थप समयको चौथो तथा अन्तिम मिनेटमा उनले दोस्रो गोल पनि गरिन्। यसपल्ट पनि काउन्टर अट्याकमा नै नेपालले गोल गरेको हो। वर्षाकै लामो पास नियन्त्रणमा लिँदै उनले गोल गरेकी हुन्। यससँगै उनले जारी च्याम्पियनसिपमा छैटौ गोल पूरा गरिन्। दोस्रो हाफमा भने नेपालले गोलका लागि संघर्ष गर्नुपर्यो।
छैटौ गोलका लागि भने लामो समय पर्खनुपर्यो। ७०औं मिनेटमा मीनाले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। इन्जुरी समयमा नेपालले सातौं गोल गर्यो। सरिताकुमारी नाथले करिब २५ यार्डबाट फ्रिकिक मार्फत गोल गरेकी हुन्। त्यसपछि थप गोल हुन सकेन र नेपालले ७–० को जित निकाल्यो। चार राष्ट्र सहभागी यस च्याम्पियनसिप डबल राउन्ड रोबिन लिगमा भइरहेको छ।
सबै टोलीले एकअर्काकासँग दुई खेलपछि लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। नेपाल, बंगलादेश भुटान र श्रीलंकासहित कुल चार राष्ट्र सहभागी छन्। अब नेपालले नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ।
प्रकाशित: ३२ असार २०८२ ०७:३० बुधबार