खेल

पेनाल्टीमा लिड्सलाई हराउँदै म्यानचेस्टर युनाइटेडको प्रिसिजन जित

म्यानचेस्टर युनाइटेडले प्रिसिजनको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा लिड्स युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ। 

बुधबार भएको खेल निर्धारित समय १–१ को बराबरीमा सकिएपछि युनाइटेडले पेनाल्टीमा ५–४ को जित निकालेको हो। ब्लिनस्थित क्रोक पार्कमा ८२ हजार ३ सय दर्शकसामु भएको खेलमा युनाइटेडका लागि नुस्सैर माजराउईले निर्णायक पेनाल्टी प्रहार गर्दै टोलीलाई जित दिलाए।

युनाइटेडले खेलको १६औँ मिनेटमा अग्रता लिएको थियो। जोसुवा जिर्क्जीले गोल गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए। पछिल्लो समय युभेन्टसको चासोमा रहेका जिर्क्जीले यो गोलमार्फत म्यानचेस्टर युनाइटेडमै रहने आफ्नो दाबी बलियो बनाएका छन्।

तर पहिलो हाफमै अमेरिकी खेलाडी ब्रेन्डन आरोन्सनले लिड्सका लागि बराबरी गोल फर्काए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। माइकल क्यारिकको प्रशिक्षणमा रहेको युनाइटेडले पेनाल्टीमा बाजी मार्दै प्रिसिजनमा अर्को जित हात पारेको हो।

यस खेलमा मार्कस रासफोर्ड, कोबी मेनु, लिसान्ड्रो मार्टिनेजलगायत खेलाडी मैदानबाहिरबाट खेल हेरेका थिए। रासफोर्ड १८ महिनापछि एस्टन भिल्ला र बार्सिलोनामा ऋणमा बिताएर युनाइटेड फर्किएका हुन्।

प्रकाशित: २८ श्रावण २०८३ ०७:१४ बिहीबार