खेल

म्यानचेस्टर डर्बी : १० खेलाडीमा सीमित सिटी विजयी, हालान्डको गोलमा भीएआरको निर्णयमाथि प्रश्न

इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ। म्यानचेस्टर डर्बीमा एर्लिङ हालान्डले गरेको निर्णायक गोलसँगै भीएआरको निर्णय विवादमा परेको छ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटीका फिल फोडेनले ब्रुनो फर्नान्डेसमाथि लात हानेपछि रातो कार्ड पाए। त्यसपछि सिटी १० खेलाडीमा सीमित भएको थियो।

तर खेलको ६०औँ मिनेटमा जोस्को ग्वार्डिओलको क्रसमा हालान्डले नजिकैबाट गोल गर्दै सिटीलाई अग्रता दिलाए। सुरुवातमा सहायक रेफ्रीले हालान्डलाई अफसाइड ठहर गर्दै गोल रद्द गरेका थिए। तर भिडियो सहायक रेफ्री अर्थात् भीएआरको समीक्षापछि निर्णय उल्ट्याउँदै गोललाई मान्यता दिइयो।

सिटीका एन्जो फर्नान्डेज अफसाइड पोजिसनमा रहे पनि उनले बललाई नछोएको भन्दै भीएआरले गोल भएको ठहर गरेको थियो। तर फर्नान्डेजले बलतर्फ जाने प्रयास गर्दा युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजको खेलमा प्रभाव परेको विषयमा विवाद भयो।

व्यावसायिक खेल रेफ्री निकाय ‘प्रो रेफ’ले पछि उक्त निर्णयमा त्रुटि भएको स्वीकार गरेको छ। प्रो रेफका अनुसार भीएआरले फर्नान्डेजको पोजिसनले खेलमा पारेको सम्भावित प्रभावलाई पहिचान गर्न सकेन। यस्तो अवस्थामा मैदानमै रहेका रेफ्रीलाई भिडियो समीक्षा गर्न सिफारिस गर्नुपर्ने थियो।

प्रो रेफले म्यानचेस्टर युनाइटेडसँग सम्पर्क गरी उक्त घटनालाई ‘निर्णयमा त्रुटि’का रूपमा स्वीकार गरिएको र घटनाको समीक्षा गरिने जनाएको छ।

युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले पनि खेलपछि उक्त निर्णयप्रति चिन्ता व्यक्त गरेका थिए। मार्टिनेजले फर्नान्डेज आफ्नो अगाडि रहेका कारण आफू प्रभावित भएको र त्यसकै कारण हालान्डले खाली ठाउँ पाएको दाबी गरेका थिए।

सिटीका लागि भने यो जित निकै महत्वपूर्ण रह्यो। १० खेलाडीमा रहेर पनि डर्बी जित्दै सिटीले लिगमा लगातार चौथो जित निकालेको छ। हालान्डले म्यानचेस्टर डर्बीमा आफ्नो गोल संख्या नौ पुर्‍याएका छन्।

गएरातिनै भएको अर्को खेलमा भने ब्राइटनले कोभेन्ट्री सिटीलाई ५-० ले हरायो।

आजको खेल

प्रिमियर लिगमा आज एक खेल हुँदैछ। लिड्स युनाइटेडले घरेलु मैदानमा न्युक्यासल युनाइटेडको सामना गर्नेछ। खेल नेपाली समयअनुसार भोलि बिहान १२ः४५ बजे सुरु हुनेछ।

 

प्रकाशित: २९ भाद्र २०८३ ०६:५२ सोमबार