नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी डे-नाइट खेलमा विराटनगर किंग्सले प्रस्तुत गरेको १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले १५.२ ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि कर्णालीलाई अब अन्तिम २८ बलमा ५५ रन आवश्यक छ। हाल कर्णालीको आवश्यक रनरेट प्रतिओभर ११.७८ रहेको छ।
कर्णालीका लागि कप्तान सोमपाल कामी २१ बलमा २ चौका र २ छक्काको मद्दतले ३७ रन बनाएर क्रिजमा संघर्ष गरिरहेका छन्। उनलाई अर्का विष्फोटक अलराउन्डर गुलशन झा १ रनमा साथ दिइरहेका छन्।
यसअघि ५७ रनमै ५ विकेट गुमाएर संकटमा परेको कर्णालीलाई पवन सर्राफ र कप्तान सोमपाल मिलेर छैटौं विकेटका लागि ६६ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए।
पवनले २८ बलमा ३६ रन बनाएर १४औं ओभरमा प्रतिश जिसीको बलमा आउट भए।
त्यसअघि कर्णालीका लागि अरिफुल इस्लामले १२ बलमै ३ चौका र ३ छक्का प्रहार गर्दै ३२ तथा दीपक डुम्रेले ११ बलमा २० रन जोडेका थिए। ओपनर मार्क वाट १, हुसेन तलत शून्य र अकबर अली १ रनमै आउट भएका थिए।
विराटनगरका लागि अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युजले घातक बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर शीर्ष क्रमका ३ महत्त्वपूर्ण विकेट लिए। यस्तै चरिथ असालंका, सन्दीप लामिछाने र प्रतिश जिसीले १-१ विकेट लिएका छन्।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले लोकेश बमको विष्फोटक ८७ रनको योगदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो।
प्रकाशित: १२ कार्तिक २०८३ २०:१७ बिहीबार