खेल

नेपाल प्रिमियर लिग: लुम्बिनीलाई विदेशीको साथ

ब्याटिङमा विदेशी खेलाडीको भर पर्नु परेको दिन रोहित पौडेलको टोली लुम्बिनी लायन्सले जितबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन सुरु गरेको छ।

विदेशी खेलाडीको राम्रो साथ नपाउँदा रोहितको कप्तानीमा लुम्बिनीले लिगको अन्त्यमा रहँदै पहिलो सिजन पूरा गरेको थियो। त्यति बेला एक मात्र जित निकाल्दै लुम्बिनी लिगको पुछारमा रहँदा विदेशी खेलाडीको प्रदर्शन सुखद थिएन। दोस्रो सिजन भने विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनमा रोहितको टोली लुम्बिनीले सुखद सुरुआत गरेको छ।

अफगानी खेलाडी गुल्बदिन नैबको अलराउन्ड प्रदर्शनमा लुम्बिनीले जित निकाल्दै दोस्रो सिजनको सुरुआत गरेको हो। कीर्तिपुरमा लुम्बिनीले बुधबार चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्यो। गत सिजन पनि लुम्बिनीको एक मात्र जित चितवनसँगै नै पाएको हो। चितवनविरुद्ध लुम्बिनीले यसपल्ट पनि सुखद नतिजा जारी राख्यो।

दुवै टोलीका लागि विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरे तर, खेलमा बाजी भने रोहितको लुम्बिनीले मार्‍यो। यससँगै चितवनले जारी एनपिएलमा पहिलो हार सामना गर्‍यो। पहिलो खेलमा चितवनले कर्णाली याक्समाथि चार विकेटको जित निकालेको थियो। दोस्रो खेलमा शीर्ष क्रमका ब्याटर चल्न नसक्दा चितवनले हार सामना गर्‍यो। यद्यपि, चितवनका लागि पनि इङ्ल्यान्ड अनुभवी क्रिकेटर रवि बोपाराले ६६ रन जोड्दै टोलीको इनिङ मध्यम योगफलसम्म पुर्‍याए। उनले लगातार दोस्रो खेलमा अर्धशतक बनाए पनि पर्याप्त भएन। अफगानी अलराउन्डर नैबले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । उनले दुई विकेटसँगै ४४ रन पनि जोडे। लुम्बिनीका विदेशी खेलाडी रुबेन ट्रम्पलमेनको प्रदर्शन पनि उत्कृष्ट रह्यो। उनले किफायती बलिङसँगै तीन विकेट लिए।

उनी र अभिशेष गौतमले शीर्ष पाँच विकेट लिएपछि चितवनको ब्याटिङ कमजोर बन्यो। त्रिवि क्रिकेट स्टेडियममा चितवनले एक सय ४३ रनको मध्यम लक्ष्य दियो। त्यो लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो। जितपछि लुम्बिनीका कप्तान रोहितले विदेशी खेलाडीको प्रदर्शन राम्रो हुँदा यसपल्ट सुखद सुरुआत गर्न पाएको उल्लेख गरे।

‘हरेक प्रतियोगितामा पहिलो खेलमा जित महत्त्वपूर्ण हुन्छ। आज हामी सफल भयौं। गत सिजन विदेशी खेलाडीको प्रदर्शन राम्रो भएको थिएन। यसपल्ट विदेशी खेलाडीले राम्रो गरेका छन्,’ रोहितले भने, ‘विदेशी र घरेलु खेलाडीको कलेक्टिभ इफोर्टले जित्यौं। आगामी खेलमा पनि यस्तै हुनेछ भन्ने आशा छ।’

लुम्बिनीका मध्यक्रमका ब्याटर नैब ४४ रनमा अविजित रहे। उनले २४ बलमा समान तीन चौका र छक्का प्रहार गरे। लुम्बिनीले दोस्रो ओभरमै पहिलो विकेट गुमाउन पुग्यो। रिजन ढकालले डार्सी सर्टलाई ११ रनमा बोल्ड गरे। त्यसपछि कप्तान रोहितले इनिङ समाले। उनले दोस्रो विकेटका लागि सन्दीप जोरासँग २७ रन, तेस्रो विकेटका लागि दिलीप नाथसँग ३० रन र चौथो विकेटका लागि नैबसँग ६० रनको साझेदारी गरे। १८औं ओभरमा रोहित ३९ रनमा आउट भए। उनले ४४ बलमा एक चौका मात्र प्रहार गरे। त्यसअघि ओपनर सन्दीपले २८ रन जोड्दा दिलीप १० रनमा रनआउट भए। चितवनको बलिङमा रिजन ढकालले दुई तथा सोहल तनभिरले एक विकेट लिए।

६ बलर प्रयोग गरे पनि चितवनले हार टार्न सकेन। कमलसिंह ऐरीले तीन ओभरमा ४४ रन खर्चदै महँगा साबित भए। रविको अर्धशतकमा चितवनले पूरै ओभरमा सात विकेट गुमाउँदै एक सय ४२ रनको योगफल बनाएको थियो। लगातार दोस्रो खेलमा रविले अर्धशतक प्रहार गरेका हुन्।

पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पनि रविले ५२ रनको इनिङ खेलेका थिए। त्यो लय उनले जारी राखे। शीर्ष तीन ब्याटर सस्तैमा आउट हुँदा चितवनको सुरुआत राम्रो भएन। ओपनरद्वय दीपक बोहरा १० रन र डविड मालन शून्यमा पभेलियन फर्किए। नामिबियन तीव्र गतिका बलर ट्रम्पलमेनले इनिङको दोस्रो बलमै मालनलाई गोल्डेन डकआउट गरे। चौथो ओभरमा दीपक पनि पभेलियन फर्किए।

सुरुमै दुई विकेट पतनपछि चितवन दबाबमा पर्‍यो। पावर प्लेमा चितवनले ३२ रन मात्र जोड्यो। आठौं ओभरमा देव खनाल पनि १४ रनमा आउट भए। यससँगै ७.३ ओभरमा चितवन ४३/३ को अवस्थामा पुग्यो। त्यसपछि रविले कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए।

१६औं ओभरमा कुशल २१ रनमा आउट भए। रविले पाँचौं विकेटका लागि पनि सैब जैबसँग ४१ रनको साझेदारी गरे। सैब ७ बलमा १५ रन जोड्दै आउट भए। उनको इनिङमा दुई चौका र एक छक्का रह्यो। डार्सीको १७औं ओभर महत्त्वपूर्ण रह्यो र चितवनले तीन छक्कासहित २१ रन जोड्यो।

अन्तिम ओभरको दोस्रो बलमा बोपारा आउट भए र चितवनको १५० रनको आँकडा पार गर्ने लक्ष्य पूरा भएन। ५५ बलमा बोपाराले चार चौका र तीन छक्का प्रहार गरे। लुम्बिनीको बलिङमा ट्रम्पलमेनले तीन तथा अभिशेष र नैबले समान दुई विकेट लिए।  रवि बोपराले लुम्बिनीका कप्तान रोहितको स्टम्पिङ निर्णय विपक्षमा आउनुप्रति असन्तुष्टि व्यक्त गरे।  

प्रकाशित: ५ मंसिर २०८२ ०७:११ शुक्रबार