कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १०६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निकै खराब सुरुवात गरेको छ।
कर्णाली याक्सका बलर मार्क वाटको उत्कृष्ट बलिङसामु लुम्बिनीले ४.३ ओभरमै आफ्ना ३ शीर्ष ब्याटर गुमाएको छ। ताजा स्थितिमा लुम्बिनीले १९ रन जोड्दा ३ विकेट गुमाइसकेको छ।
सस्तो लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले दोस्रो ओभरको चौथो बलमै ओपनर आसिफ शेखलाई व्यक्तिगत १ रनमा गुमायो। उनलाई मार्क वाटले एलबीडब्लू धरापमा पारे।
त्यसपछि चौथो ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल पनि व्यक्तिगत १ रनमै वाटको बलमा आरिफुल इस्लामबाट क्याच आउट भए।
लगत्तै पाँचौं ओभरको तेस्रो बलमा आक्रामक ब्याटर सन्दीप जोरा ४ रन बनाएर पवन सर्राफको बलमा नन्दन यादवबाट क्याच आउट भएपछि लुम्बिनी १९-३ को दबाबपूर्ण स्थितिमा पुगेको छ।
क्रिजमा हाल ओपनर डार्सी सर्ट ८ बलमा २ चौकाको मद्दतले १३ रन बनाएर खेलिरहेका छन्।
कर्णालीका लागि मार्क वाटले किफायती बलिङ गर्दै २ ओभरमा १ मेडनसहित मात्र ३ रन खर्चेर २ विकेट लिए। त्यस्तै पवन सर्राफले १.३ ओभरमा ६ रन दिएर १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा अलआउट भएको थियो।
प्रकाशित: २६ कार्तिक २०८३ १९:१६ बिहीबार



