नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले प्रस्तुत गरेको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स सहज जिततर्फ अघि बढेको छ।
९८ रनको लक्ष्य पाएको लुम्बिनीले ११ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८६ रन जोडेको छ। लुम्बिनीलाई जितका लागि अब ५४ बलमा मात्र १२ रनको आवश्यकता छ।
सुरुवाती दुई विकेट चाँडै गुमाए पनि कप्तान रोहित पौडेल र विकेटकिपर ब्याटर निरोशन डिक्वेलाले इनिङ्स सम्हाल्दै लुम्बिनीलाई जितनजिक पुर्याएका हुन्। यी दुईबीच तेस्रो विकेटका लागि ६५ रनको अविजित साझेदारी भइसकेको छ।
हाल क्रिजमा कप्तान रोहित २८ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाएर खेलिरहेका छन्। उनलाई साथ दिइरहेका डिक्वेला २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा टिकेका छन्।
यसअघि २१ रन जोड्दा २ विकेट गुमाएको लुम्बिनीका ओपनर आसिफ शेख व्यक्तिगत ७ रनमा रनआउट भएका थिए।
अर्का ओपनर डार्सी सर्टले ६ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडेर विपिन खत्रीको बलमा क्याच आउट भए। पोखराका लागि विपिन खत्रीले १ विकेट लिनुबाहेक अन्य बलरले विकेट लिन सकेका छैनन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रनमै समेटिएको थियो।
प्रकाशित: १७ कार्तिक २०८३ १९:४९ मंगलबार