खेल

लुम्बिनी निरीह, काठमाडौं २२ रनले विजयी

कप्तान करण केसीको आक्रामक ब्याटिङ र बलरहरूको सन्तुलित प्रदर्शनको मद्दतमा काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित दर्ता गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ११औँ खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो।

जितका लागि १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.१ ओभरमा १३५ रनमा अलआउट भयो। यो जितसँगै काठमाडौँले अङ्क तालिकामा महत्त्वपूर्ण २ अङ्क जोड्दै प्लेअफको सम्भावनालाई बलियो बनाएको छ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

काठमाडौको सुरुवात निकै खराब रह्यो। ओपनर बेन चार्ल्सवर्थ (०) इनिङको दोस्रो ओभरमै र राशिद खान (१४) पाँचौँ ओभरमा आउट हुँदा टोली दबाबमा परेको थियो।

ओपनर आकाश त्रिपाठीले एक छेउबाट इनिङ सम्हाल्दै ३६ बलमा ३२ रन बनाए। मध्यक्रममा सन्तोष यादवले १६ बलमा २६ रन र मिलिन्द कुमारले २० बलमा १७ रनको योगदान दिए।

तर, इनिङको अन्त्यतिर कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै खेलको नक्सा बदलिदिए। करणले मात्र ११ बलको सामना गर्दै १ चौका र ४ छक्काको मद्दतमा अविजित ३४ रन बनाएपछि काठमाडौंले १५० को आँकडा पार गरेको थियो।

बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल, गुल्बादीन नाइब, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान २–२ विकेट लिए।

१५८ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले नियमित अन्तरालमा विकेट गुमाउँदा हार व्यहोर्न बाध्य भयो। टोलीका लागि शेर मल्लले तल्लो क्रममा १८ बलमा सर्वाधिक २७ रन बनाए।

त्यस्तै, दिलीप नाथले २५ र डार्सी सर्टले २२ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

कप्तान रोहित पौडेल (११), सन्दीप जोरा (७) र गुल्बादीन नाइब (११) जस्ता प्रमुख ब्याटरहरू सस्तैमा समेटिएपछि लुम्बिनीको इनिङ धराशायी बन्यो। लुम्बिनीलाई १३५ रनमा समेट्न काठमाडौंका बलरहरू हाबी भए।

काठमाडौंका लागि मिलिन्द कुमार र जेरार्ड इरास्मसले समान २–२ विकेट लिए भने करण केसी, राशिद खान र सन्तोष यादवले १–१ विकेट हात पारे।

प्रकाशित: ९ मंसिर २०८२ १९:३१ मंगलबार