कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १४औं खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ।
जितका लागि पाएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो।
खराब सुरुवात गरेको जनकपुरका लागि कप्तान हरमित सिंहले २० बलमा ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए। यस्तै, नवौं नम्बरमा आएका आदित्य महताले २४ बलमा ४ छक्का प्रहार गर्दै अविजित ३० रन र ओपनर सेफ हसनले २८ रन जोडे।
मध्यक्रमका ब्याटरहरू लगातार सस्तैमा आउट हुँदा एक समय ५३ रनमा २ विकेटको स्थितिमा रहेको जनकपुर ६५ रन पुग्दा ७ विकेट गुमाउन पुगेको थियो।
जनकपुरका अन्य ब्याटरमा त्रितराज दासले १८, जेम्स निसमले ९ र विशाल सुसलिङले ४ रन बनाए भने अनिल साह र परवेज हुसेन इमोन समान १-१ रनमा पभेलियन फर्किए।
जनकपुरलाई रोक्न लुम्बिनीका डार्सी सर्टले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै, तिलक भण्डारीले २ ओभरमा मात्र ५ रन दिएर २ विकेट हात पारे भने शेर मल्लले २ र रुबेन ट्रम्पलम्यानले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो।
पहिलो बलमै ओपनर डार्सी सर्टलाई शून्य रनमा गुमाएको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३४ रनको योगदान दिए।
त्यस्तै, विकेटकिपर निरोशन डिकवेलाले २७, दिलिप नाथले १६ बलमा २५, आसिफ शेखले २१ र रुबेन ट्रम्पलम्यानले १५ रनको आक्रामक इनिङ्स खेले।
बलिङतर्फ जनकपुरका विशाल सुसलिङले ४ ओभरमा २१ रन खर्चेर २ तथा राहुल यादवले २ ओभरमा १७ रन दिएर २ विकेट लिए। यस्तै, ललित राजवंशी, कप्तान हरमित सिंह र अभिषेक तिवारीले समान १-१ विकेट लिए।
यो जितसँगै उत्कृष्ट लयमा रहेको लुम्बिनी लायन्सले अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप मजबुत बनाएको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १६:०० बिहीबार