कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।
कर्णालीले प्रस्तुत गरेको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदा १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
यो जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा स्थान सुरक्षित गर्न सफल भएको छ।
९ अंक जोडेको लुम्बिनी शीर्ष चारमा रहने निश्चित भएको हो। उता छैटौं खेलमा चौथो पराजय व्यहोरेको कर्णाली याक्स ४ अंकसहित तालिकाको सातौं स्थानमा रहँदा उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ।
सानो लक्ष्य पछ्याएको लुम्बिनीले सुरुवातमै दबाब सामना गर्यो। १९ रन जोड्दा ३ विकेट गुमाइसकेको स्थितिमा ओपनर डार्सी सर्ट र विकेटकिपर ब्याटर निरोशन डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे। सर्टले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाए। डिकवेलाले १६ रन जोडे।
मध्यक्रममा डार्सी सर्ट र शमिम हुसेन आउट भएपछि दिलिप नाथले संयमित ब्याटिङ गर्दै टोलीलाई जितसम्म डोहोर्याए। दिलिपले २७ बलमा ४ चौकाको मद्दतले अविजित २८ रन बनाए।
रुबेन ट्रम्पलम्यान २ रनमा अविजित रहे। यसअघि ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल समान १-१ रन तथा सन्दीप जोरा ४ रनमै आउट भएका थिए।
कर्णालीका स्पिनर मार्क वाटले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। पवन सर्राफ र हुसेन तलतले १-१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली १९.२ ओभरमा १०५ रनमै समेटिएको थियो। कर्णालीका लागि सोमपाल कामीले २८ र हुसेन तलतले २४ रन बनाउनुबाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्।
कप्तान डेभिड मिलर व्यक्तिगत ५ रनमै पेभेलियन फर्किएका थिए। लुम्बिनीका लागि कसिलो बलिङ गरेका कप्तान रोहित पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेक गौतमले समान २-२ विकेट लिएका थिए।
त्यस्तै रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट लिएका थिए।
प्रकाशित: २६ कार्तिक २०८३ २०:१५ बिहीबार