कलाकार दीपकराज गिरीले लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई हराएर फाइनल पुगेपछि क्रिकेट र नेपालको राजनीतिलाई उस्तै उस्तै भनेका छन्।
बिहीबार खेलपछि सामाजिक सञ्जालमा उनले लेखे, ‘बिहान बाटोमा हिँड्दा प्राय : ठाउँमा फाइनल त विराटनगर र सुदूर पश्चिमको हो लेखेर राखे हुन्छ, यो खेल त औपचारिकता मात्रै हो भन्थे! हुन पनि गुप्तिल र डुप्लिसि जस्ता क्रिकेटर त ओपनर ! त्यो माथि नेपालका बलिंग सुपरस्टार सन्दीपजस्ता बलर भएको धुरन्धरहरूको टिम.. तर नतिजा लुम्बिनीको पक्षमा ! गज्जबै गर्यो बा !!’
उनले अगाडि लेखेका छन्, ‘यो क्रिकेट भन्ने खेल र नेपालको राजनीति उस्तै, अनुमानै गर्न गाह्रो ‘मलाइ राम्रो लागेको एउटा कुरा चाहिँ राष्ट्रिय टिमका कप्तानको टिम नै फाइनल पुग्नु भनेको राम्रो कुरा हो ! आज त उनको टुकुटुकु पनि थिएन‘।। बलरहरूको प्रदर्शन उत्कृष्ट ! जे भए पनि बधाई छ साथीहरू !!!’
एनपिएल फाइनल शनिबार दिउँसो साढे तीन बजे कीर्तिपुरमा हुनेछ। कप्तान रोहित पौडेलको लुम्बिनी र उपकप्तान दीपेन्द्रसिंह ऐरीको सुदूरपश्चिम रोयल्सबिच उपाधि भिडन्त हुने छ।
विजेताले एक करोड १० लाख रुपैयाँ पाउनेछ भने दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ पाउनेछ। त्यस्तै तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रकाशित: २६ मंसिर २०८२ ०७:३७ शुक्रबार