खेल

लुम्बिनी सहज अवस्थामा, रोहितको जिम्मेवारीपूर्ण ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजले दिएको १४३ रनको मध्यम लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जिततर्फ अग्रसर देखिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको ११ ओभर सकिँदा लुम्बिनीले ३ विकेटको क्षतिमा ८७ रन बनाएको छ। अब लुम्बिनीलाई जितका लागि ५४ बलमा ५६ रन आवश्यक छ भने हातमा ७ विकेट सुरक्षित छन्।

लुम्बिनीको इनिङ्स उकास्न सन्दीप जोराले आक्रामक ब्याटिङ गरे। उनले १८ बलमा ४ चौकासहित २८ रन बनाएर आउट भए।

ओपनर डार्सी सर्ट ११ रनमा र दिलिप नाथ १० रनमा आउट भएपछि लुम्बिनी केही दबाबमा आएको थियो। दिलिप नाथ रन आउट हुन पुगे।

अहिले क्रिजमा कप्तान रोहित पौडेल जिम्मेवारीपूर्ण ब्याटिङ गरिरहेका छन्। उनी २५ बलमा २३ रन बनाएर खेलिरहेका छन्।

चितवनका लागि युवा बलर रिजन ढकालले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले आफ्नो ३ ओभरको स्पेलमा मात्र १७ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएर चितवनलाई खेलमा फर्काउने प्रयास गरेका छन्। अन्य बलरहरू भने केही महँगो साबित भएका छन्।

अहिले लुम्बिनीलाई जित्नका लागि प्रति ओभर ६.२२ को रनरेट आवश्यक छ।

प्रकाशित: ४ मंसिर २०८२ १८:५४ बिहीबार