सिंगापुरको फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमी र लुम्बिनी फुटबल एकेडेमी, दाङबिच ग्रासरुट फुटबल विकासका लागि सम्झौता भएको छ। काठमाडौंको नक्सालस्थित होलिडे इन एक्स्प्रेस होटलमा शनिबार आयोजित एक कार्यक्रमबिच दुईपक्षीय सम्झौता भएको हो।
लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समीर ओली र फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीको तर्फबाट कम्पनीकी डाइरेक्टर अस्मिता गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे। कार्यक्रममा फ्रेन्जका मालिक सिंगापुर नागरिक डेल्भिन एस्पि पनि उपस्थित थिए।
सञ्चालक समीर ओलीको व्यक्तिगत लगानीमा आवासीय सुविधासहित आफ्नै खेल मैदानमा २०८० सालदेखि दाङको घोराहीमा लुम्बिनी फुटबल एकेडेमी सञ्चालन हुँदै आएको छ। हाल आवासमा २९ जना खेलाडी रहेका छन् भने ६ जना विपन्न तथा दलित समुदायका खेलाडीहरूको पालनपोषण र शिक्षामा पनि ओलीले आफ्नो व्यक्तिगत खर्चबाट सहयोग गरिरहेका छन्।
सन् २०१२ देखि सिंगापुरमा रहेर फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीले मलेसिया, इन्डोनेसिया लगायतका मुलुकमा निरन्तर सक्रियता देखाउँदै आएको छ। क्लबले त्यहाँका डिभिजन लिगहरूमा पनि प्रतिस्पर्धा गर्दै आएको छ, जसको संरक्षकका रूपमा सिंगापुरका पूर्व मुख्य प्रशिक्षक जिता सिंह रहेका छन्।
सम्झौतासँगै अब लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीले नेपाली फुटबल क्षेत्रमा लुम्बिनी फ्रेन्ज फुटबल क्लबको रूपमा प्रतिनिधित्व गर्नेछन्। सम्झौता अनुसार फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीले लुम्बिनी फुटबल एकेडेमीलाई आर्थिक, प्राविधिक र व्यवसायिक रूपमा सहयोग गर्नेछ। पहिलो चरणमा दाङ, घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीको भौतिक स्तरोन्नति गरी त्यसलाई केन्द्रीय कार्यालयको रूपमा स्थापना गर्ने योजना छ। त्यसपछि सोही मोडालिटीअनुसार देशभर प्रादेशिक रूपमा अन्य संरचना विस्तार गर्ने उद्देश्य रहेका छन्।
प्राविधिकतर्फ, नेपाली ग्रासरुट फुटबलमा पहिलो पटक एआई प्रविधिको प्रयोगका लागि सिंगापुरबाट आवश्यक उपकरण उपलब्ध गराइनेछ। फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीका मालिक डेल्भिन एस्पि स्वयं एक एआई सफ्टवेयर कम्पनी सिक्थ सेन्सका प्रबन्धक रहिसकेकाले उक्त प्रविधिले खेलाडीको प्रदर्शन निरीक्षण गर्न र त्यससँग सम्बन्धित डेटा अध्ययन गरी खेलाडीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
सिंगापुर र नेपाली फुटबलबिच यो सम्झौताले दुई देशबिचको पारस्परिक सम्बन्ध पनि सुदृढ बनाउने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाली फुटबलमा देखिएको नकारात्मकताबिच, यो सम्झौताले विदेशी लगानीकर्तालाई पनि नेपालमा फुटबलमा लगानी गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।
लुम्बिनी फ्रेन्ज फुटबल क्लबले नेपालकै फुटबल संरचनाभित्र रहँदै घरेलु प्रतियोगिता देखि राष्ट्रिय लिगसम्म आफ्नो उपस्थिति जनाउने लक्ष्य राखेको छ। सम्झौता पछिको पहिलो पाइला अनुसार दुबै पक्ष नेपालकै मोफसल फुटबलकै सबैभन्दा लोकप्रिय प्रतियोगितामा भाग लिनेछन्। त्यहाँ सिंगापुर राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक जिता सिंह प्रशिक्षण दिएको टोली सहित राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुनेछन्।
प्रकाशित: ५ पुस २०८२ १४:२५ शनिबार