खेल

लखनउको रोमाञ्चक जित, हैदरावाद ५ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आइतबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादमाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।

हैदरावादस्थित घरेलु मैदानमा सनराइजर्सले दिएको १५७ रनको लक्ष्य लखनउले अन्तिम ओभरको पाँचौं बलमा ५ विकेट गुमाएर पूरा गरेको हो।

लक्ष्य पछ्याउने क्रममा लखनउका कप्तान तथा विकेटकिपर ऋषभ पन्तले उत्कृष्ट इनिङ्स खेले। टोलीलाई जितसम्म पुर्‍याउन उनले ५० बलको सामना गर्दै ९ चौकाको मद्दतले अविजित ६८ रन बनाए।

लखनउलाई ओपनरद्वय एडेन मारक्रम र मिचेल मार्शले ३७ रनको ओपनिङ साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए। मार्श १२ बलमा १४ रन बनाएर इशान मलिंगाको बलमा आउट भए।

त्यसपछि आक्रामक रूपमा प्रस्तुत भएका मारक्रमले २७ बलमा ६ चौका र २ छक्कासहित ४५ रनको योगदान दिए। उनी शिवान्ग कुमारको बलमा क्याच आउट भएका थिए।

मध्यक्रमका ब्याटरहरू आयुष बदोनी १२ रन र निकोलस पुरन १ रनमा सस्तैमा आउट हुँदा लखनउ १०५-४ को दबाबपूर्ण स्थितिमा पुगेको थियो।

यद्यपि, अब्दुल समदले १२ बलमा १६ रन जोड्दै पन्तलाई साथ दिए। अन्तिम ओभरसम्म लम्बिएको खेलमा पन्तले मुकुल चौधरी सँग मिलेर १ बल बाँकी छँदै टोलीलाई जितको लक्ष्यमा पुर्‍याए।

बलिङतर्फ हैदरावादका हर्ष दुबेले कसिलो प्रदर्शन गर्दै ४ ओभरमा मात्र १८ रन दिएर २ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। शिवान्ग कुमार र इशान मलिंगाले १-१ विकेट लिए भने तीव्र गतिका बलर जयदेव उनादकट निकै महँगो साबित भए।

उनादकटले ३.५ ओभरमा विकेटविहीन हुँदै ५० रन खर्चिएका थिए।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। हैदरावादको ओपनिङ र शीर्ष क्रम पूर्ण रूपमा धराशायी भएको थियो।

जम्मा ११ रन जोड्दा टोलीले ३ विकेट गुमाइसकेको थियो भने २६ रन पुग्दा चौथो विकेट पतन भएको थियो।

ओपनर अभिषेक शर्मा शून्य रनमा आउट भए भने अर्का भरपर्दा ब्याटर ट्राभिस हेड ७ रनमै पेभिलियन फर्किए। कप्तान तथा विकेटकिपर इशान किशनले ४ बलमा जम्मा १ रन मात्र जोड्न सके।

लियाम लिभिङस्टोन १४ रन बनाएर आउट भएपछि हैदरावाद गहिरो संकटमा परेको थियो।

यस्तो संकटपूर्ण अवस्थामा हेनरिच क्लासेन र नितिश कुमार रेड्डीले सानदार साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका हुन्। यी दुईबीच पाँचौं विकेटका लागि ११६ रनको विशाल साझेदारी भएको थियो।

क्लासेनले आक्रामक ब्याटिङ गर्दै ४१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६२ रन बनाए। त्यसैगरी, रेड्डीले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५६ रनको महत्त्वपूर्ण पारी खेले।

रेड्डी र क्लासेनको साझेदारीले बलियो योगफलतर्फ अघि बढेको हैदरावादले इनिङ्सको अन्त्यतिर भने नाटकीय पतनको सामना गर्नुपर्‍यो।

टोलीले अन्तिम १४ रन जोड्दा थप ५ विकेट गुमायो। क्लासेन १४४ रनको स्कोरमा आउट भए भने हर्ष दुबे (०), शिवान्ग कुमार (५) र हर्षल पटेल (४) सस्तैमा समेटिए।

लखनउका अनुभवी तीव्र गतिका बलर मोहम्मद शामीले सनसनीपूर्ण बलिङ गरे। उनले ४ ओभरमा मात्र ९ रन खर्चिएर हैदरावादका प्रमुख दुई ब्याटरको विकेट लिएका हुन्।

त्यस्तै, आवेश खान र प्रिन्स यादवले पनि समान २-२ विकेट लिए भने मनिरमन सिद्धार्थ र दिगभेश राठीले १-१ विकेट हात पारे।

प्रकाशित: २२ चैत्र २०८२ १९:३६ आइतबार