खेल

नेपाललाई दोस्रो झट्का: भुर्तेल १ रनमै आउट, आसिफले जोडे १९ रन

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी ओमानविरुद्धको खेलमा नेपालले चुनौतीपूर्ण सुरुवात गरेको छ।

ओमानले प्रस्तुत गरेको ३०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ८ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ३३ रन मात्र जोडेको छ।

नेपालका ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमै एलबिडब्लु धरापमा परे। अर्का ओपनर आसिफ शेखले १९ रन जोडे पनि शकील अहमदकै बलमा क्याच आउट हुन पुगे।

अहिले क्रिजमा भीम सार्की ११ रन बनाएर खेलिरहेका छन्। उनलाई साथ दिन कप्तान रोहित पैडेल मैदान उत्रिएका छन्।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल खडा गरेको थियो।

ओमानका लागि कप्तान जतिन्दर सिंहले आक्रामक शतकीय इनिङ खेले। उनले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रनको योगदान दिए।

त्यस्तै, ओमानका जितेन रामानन्दीले ४३, आर्यन बिष्टले ३५ र हम्माद मिर्जाले ३० रन जोडे। नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट हात पारे।

प्रकाशित: १६ वैशाख २०८३ १४:१७ बुधबार