खेल

लोकेशको विष्फोटक ब्याटिङ, कर्णालीलाई १८७ रनको लक्ष्य

<br>

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससामु जितका लागि १८७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो।

विराटनगरका लागि पाँचौं नम्बरमा मैदान उत्रिएका विकेटकिपर-ब्याटर लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै मात्र ५२ बलमा ८७ रनको उत्कृष्ट इनिङ्स खेले। उनले मैदानको चारैतर्फ सानदार प्रहार गर्दै ३ चौका र ९ वटा गगनचुम्बी छक्का हिर्काए।

उत्कृष्ट लयमा रहेका लोकेश व्यक्तिगत शतक बनाउनबाट भने १३ रनले चुके। उनी १६औँ ओभरको पाँचौँ बलमा सोमपाल कामीको बलमा ‘कट एन्ड बोल्ड’ हुन पुगेका थिए।

सुरुवाती तीन विकेट ७३ रनमै गुमाएको विराटनगरको इनिङ्स उकास्न लोकेशले अनुभवी एन्जेलो म्याथ्युजसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। म्याथ्युजले २३ बलमा ४ चौकासहित ३१ रनको योगदान दिए।

तल्लो क्रममा आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २७ रनको विष्फोटक इनिङ्स खेले। यस्तै बासिर अहमदले ७ बलमा १ चौका र १ छक्काको मद्दतले १३ रन जोडे भने शेहान जयसूर्याले ११ रन बनाए। ओपनर इमरान शेख ५ र चरिथ असालंका ३ रनमै पेभेलियन फर्किएका थिए।

विराटनगरका ब्याटरहरू हाबी भइरहँदा कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै महत्त्वपूर्ण ४ विकेट हात पारे। उनले ४ ओभरमा ३३ रन खर्चेर विराटनगरका प्रमुख ब्याटरहरू असालंका, लोकेश बम, म्याथ्युज र आन्द्रे रसेललाई आउट गरे।

यस्तै कसिलो बलिङ गरेका मार्क वाटले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर १ विकेट लिए भने नन्दन यादवले ४३ रन दिएर १ विकेट हात पारे।

अब कर्णाली याक्सले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्न २० ओभरमा १८७ रन बनाउनुपर्नेछ।

प्रकाशित: १२ कार्तिक २०८३ १८:५१ बिहीबार