खेल

नामिबियाविरुद्ध नेपाल १५७ रनमै अलआउट, स्मिट एक्लैले लिए ६ विकेट

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय खेलमा ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेपछि नेपाल १५७ रनमै समेटिएको छ।

नेदरल्याण्ड्सको उट्रेचमा नामिबियाविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा अलआउट हुँदै १५७ रनमा रोकिएपछि नामिबियाले सामान्य लक्ष्य पाएको छ।

नेपालको सुरुवात निकै निराशाजनक रह्यो। टोलीका ओपनर कुशल भुर्तेल इनिङ्सको दोस्रो बलमै व्यक्तिगत २ रनमा आउट भए। लामो समय क्रिजमा बिताएका अर्का ब्याटर इसान पाण्डेले संघर्ष गर्दै ३१ बलमा मात्र ८ रन जोड्न सके।

टिकेर खेल्ने प्रयास गरेका विकेटकिपर ब्याटर आसिफ शेख १६ रनमा क्याच आउट भएसँगै नेपाल १५.२ ओभरमा ४० रन जोड्दा ३ विकेट गुमाएर संकटमा परेको थियो।

सुरुवाती संकट टार्ने प्रयास गर्दै कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरेर इनिङ्स उकासेका थिए।

तर, ३१औं ओभरमा दीपेन्द्र ३० रनमा बर्नार्ड स्कोल्ट्जको बलमा बोल्ड भएसँगै नेपालको ब्याटिङ लाइन पुनः ढल्न थाल्यो। लगत्तै क्रिजमा आएका आरिफ शेख शून्य रनमै पेभेलियन फर्किए भने कप्तान रोहित पनि ६० बलमा ३१ रन बनाएर ज्याक ब्रासेलको शिकार बने। नेपाल ९३/३ को बलियो अवस्थाबाट केही बेरमै ९९/६ को खराब स्थितिमा पुग्यो।

अन्तिम ओभरहरूमा पुछारका ब्याटरहरूले नेपालको स्कोर १५० कटाउन महत्त्वपूर्ण योगदान दिए। गुलशन झाले ३८ बलमा २० रन बनाए भने सोमपाल कामीले ३० बल खेल्दै १५ रन जोडे।

करन केसीले आक्रामक रूपमा १५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेपछि नेपालको स्कोर सम्मानजनक स्थितिमा पुगेको हो। नन्दन यादव १ रनमा आउट हुँदा सन्दीप लामिछाने १ रनमा अविजित रहे।

नेपाली ब्याटिङलाई ध्वस्त बनाउने क्रममा नामिबियाका जेजे स्मिटले ९.५ ओभरमा १ मेडनसहित २७ रन दिएर ६ विकेट लिए। यस्तै, बर्नार्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले समान २-२ विकेट लिए।

प्रकाशित: ५ श्रावण २०८३ १८:१५ मंगलबार