खेल

कुशलको अलराउन्ड प्रदर्शन, युएईमाथि नेपालको सानदार जित

कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा युएईमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।

कतारको दोहामा सम्पन्न समूह ‘बी’ को खेलमा युएईले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६८ बल बाँकी छँदै २२ ओभरमा ४ विकेट गुमाएर १२३ रन बनाउँदै पूरा गर्यो।

नेपालको सहज जितमा ब्याटिङतर्फ कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले। ५६ बलको सामना गरेका उनले ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए।

सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवात भने कमजोर गरेको थियो। ८ रन बनाउँदा नै नेपालले लगातार दुई बलमा २ विकेट गुमायो। दोस्रो ओभरको पाँचौं बलमा ओपनर अर्जुन कुमाल १० बलमा १ चौकासहित ५ रन बनाएर आउट भए भने छैटौं बलमा देव खनाल शून्य रनमै पेभिलियन फर्किए। दुवै ब्याटर मुहम्मद मोहसिनको बलमा विकेटकिपर अफ्ताब आलमबाट क्याच आउट भए।

त्यसपछि कुशल भुर्तेल र मयन यादवले तेस्रो विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले। ११ औं ओभरमा आउट हुनुअघि मयनले २८ बलमा ४ चौका र १ छक्कासहित २७ रनको योगदान दिए।

चौथो विकेटका लागि कुशलले बसिर अहमदसँग ४३ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्याए। २१ औं ओभरमा टोलीको स्कोर ११२ रन छँदा कुशल आउट भएपछि बसिर र पवन सर्राफले अविजित ११ रन जोड्दै नेपाललाई जित दिलाए। बसिरले ३१ बलमा अविजित १८ रन बनाए भने पवनले ८ बलमा २ चौकासहित अविजित ९ रन जोडे।

बलिङतर्फ युएईका मुहम्मद मोहसिनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। यस्तै, उद्दिश सुरीले ४ ओभरमा १८ रन र अंश टन्डनले २ ओभरमा ९ रन दिएर १-१ विकेट हात पारे। इब्रार अहमद, कप्तान बासिल हमिद, मुहम्मद शाहदाद र नुरुल्लाह अयोबी विकेटविहीन रहे।

यसअघि पहिले ब्याटिङ गरेको युएई नेपाली बलरसामु निरीह बन्दै ३९ दशमलव ५ ओभरमा १२१ रन बनाएर अलआउट भएको थियो।

युएईलाई सस्तैमा समेट्न नेपाली कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिए। सन्दीपले १० ओभरको स्पेलमा ३ मेडन राख्दै मात्र ११ रन खर्चेर ३ विकेट हात पारे। यस्तै, कुशलले ५ ओभरमा २ मेडनसहित १५ रन दिएर ३ विकेट झारे।

नेपालका लागि राशिद खानले ४ ओभरमा १३ रन, ललित राजवंशीले ८ ओभरमा १ मेडनसहित २७ रन र नन्दन यादवले ४ दशमलव ५ ओभरमा २८ रन खर्चेर १-१ विकेट लिए। एक विकेट राशिदले रनआउटका रूपमा दिलाए। बसिर अहमदले ४ ओभरमा १२ र पवन सर्राफले ४ ओभरमा १५ रन खर्चे पनि विकेट लिन सकेनन्।

युएईका लागि मुहम्मद शाहदादले ७० बलमा ५ चौकासहित सर्वाधिक ४० रन बनाए। यस्तै, हरप्रीत सिंहले ४८ बलमा ४ चौकासहित ३२ रन र नुरुल्लाह अयोबीले २४ बलमा १ छक्कासहित १२ रन जोडे। युएईका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

११ रनमै २ विकेट गुमाएर दबाबमा परेको युएईका लागि शाहदाद र सिंहले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए। तर, १७ औं ओभरमा सन्दीपले सिंहलाई आउट गरेपछि युएईको ब्याटिङ लाइनअप ध्वस्त भयो र थप ४७ रन जोड्दा बाँकी ७ विकेट गुमायो।

युएईका आर्यंश शर्मा र उद्दिश सुरीले ८-८, इथान डिसुजाले ६, अफ्ताब आलमले ४, कप्तान बासिल हमिदले २ तथा अंश टन्डन र इब्रार अहमदले १-१ रन बनाए। मुहम्मद मोहसिन शून्य रनमा अविजित रहे।

प्रकाशित: ६ मंसिर २०८३ १६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App