खेल

कुशल भुर्तेलको विस्फोटक अर्धशतक, संकटमा पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले विस्फोटक अर्धशतक प्रहार गरेका छन्।

एकातर्फबाट लगातार विकेट झरिरहेको अवस्थामा भुर्तेलले आक्रामक ब्याटिङ गर्दै टोलीको आशालाई जीवितै राखेका छन्।

भुर्तेलले मात्र २७ बलमा ३ चौका र ५ गगनचुम्बी छक्काको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन्। उनले अविजित रहँदै ५१ रन बनाएर क्रिजमा संघर्ष गरिरहेका छन्।

विशाल लक्ष्यको दबाबमा पनि उनले सुरुदेखि नै निडर ब्याटिङ गर्दै विराटनगरका बलरहरूमाथि दबाब बनाएका थिए।

यद्यपि, पोखराको इनिङ्स भने संकटमा परेको छ। समाचार तयार पार्दासम्म पोखराले १३ ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको छ। भुर्तेललाई अन्य ब्याट्सम्यानबाट गतिलो साथ मिल्न सकेको छैन।

यसअघि, एडम रोसिङ्टनले ३९ रन जोडे पनि जेम्स नीशम र त्रित राज दास शून्य रनमै आउट भएका थिए। विराटनगरका कप्तान सन्दीप लामिछानेले किफायती बलिङ गर्दै २ महत्वपूर्ण विकेट लिएका छन् भने सूर्य तामाङ, प्रतित जिसी र शुभम रन्जानेले एक-एक विकेट लिएका छन्।

पोखरालाई जितका लागि अब ४२ बलमा १०१ रन आवश्यक छ।

प्रकाशित: २ मंसिर २०८२ १९:११ मंगलबार