नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको डे-नाइट खेलमा पोखरा एभेन्जर्सका विस्फोटक ब्याटर कुशल भुर्तेल केवल १ रनले शतक बनाउनबाट चुकेका छन्।
१८.२ ओभरमा ९९ रन बनाएर खेलिरहेका भुर्तेललाई करण केसीले आउट गरे पनि पोखराले २०३ रनको विशाल योगफल बनाइसकेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराका लागि भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतले १९४.११ को स्ट्राइक रेटमा ९९ रनको सानदार इनिङ्स खेले।
शतकबाट मात्र १ रन टाढा रहेका बेला १८.२ ओभरमा उनी करण केसीको बलमा विकेटकिपर पटेलबाट क्याचआउट भए।
भुर्तेल आउट हुनुअघि उनले अर्का ब्याटर युवराज सम्रासँग मिलेर दोस्रो विकेटका लागि १६ ओभरमा १८६ रनको विशाल साझेदारी गरे। ताजा अवस्थामा सम्रा ५४ बलमा ८ चौका र ५ छक्कासहित ८९ रन बनाएर क्रिजमा अविजित छन्।
पछिल्लो ५ ओभरमा पोखराले १ विकेट गुमाएर ५२ रन थपेको छ। यसअघि २.२ ओभरमा १७ रन हुँदा ओपनर तथा विकेटकिपर अर्जुन कुमाल ६ बलमा ५ रन बनाएर जहान्दाद खानको बलमा विकेटकिपर पटेलबाटै क्याचआउट भएका थिए।
काठमाडौंका लागि बलिङमा करण केसीले ३.२ ओभरमा २८ रन खर्चेर भुर्तेलको महत्त्वपूर्ण विकेट लिए। यस्तै, आफ्नो ४ ओभर पूरा गरेका जहान्दाद खानले ४७ रन खर्चेर १ विकेट हात पारे।
सहन अरच्चिगे र रशिद खानले ३-३ ओभरमा समान ४०-४० रन खर्चिए भने गणेश गौतमले ३ ओभरमा २५ तथा सन्तोष यादवले २ ओभरमा २१ रन दिएर विकेट लिन सकेनन्। पोखराले अतिरिक्तका रूपमा १० रन प्राप्त गरेको छ।
प्रकाशित: २९ कार्तिक २०८३ १८:३० आइतबार