खेल

घरेलु टोली कर्णालीलाई पराजित गर्दै कोशीको पहिलो जीत

घरेलु टोली कर्णाली प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले पहिलो जीत निकालेको छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत बुधबार भएको दोस्रो खेलमा कर्णालीलाई ४९ रनले हराउँदै कोशीले पहिलो जीत निकालेको हो। उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएर दवावमा रहेको कोशीले कर्णालीमाथि सहज जीत निकाल्यो।

टस जितेर पहिले व्याटिङ रोजेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको मद्दतमा १२५ रन बनाएको थियो। रुविनाले आउट हुनुअघि एक छक्का र नौ चौकाको मद्दतमा ५७ बल खेलेर ६२ रन बनाइन्।

कोशीका लागि काजोल श्रेष्ठले १४, खुशी राजबंशीले १० र लकिता राजबंशीले ९ रन बनाए। विमला महला ७ र फुलकुमारी राजबंशी ६ रनमा नटआउट रहे।  

कर्णालीकी रमा बुढाथोकीले दुई र रविना बुढामगरले एक विकेट लिए।  

जवाफी ब्याटिङ थालेको कर्णाली ७६ रनमा अलआउट भयो। कर्णालीका लागि शिखा दवाडीले सर्वाधिक २० रन बनाइन्। यस्तै सोविका शाही १२, रमा बुढाथोकी १०, किरणकुमारी कुँवर ९, गंगा खड्का सात, अञ्जु गुरुङ चार, सोना चन्द ७, रविना बुढामगर तीन, जयन्ती चन्द र ओपनर रेखा सोनीले एक-एक रन बनाए।  

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा कोशीकी लकिता राजबंशीले तीन विकेट हात पारिन्। चार ओभर बलिङ गरेकी लकिताले एक ओभर मेडर्न राख्दै मात्रै पाँच रन दिइन्। कर्णालीको ब्याटिङ लाइन ध्वस्त बनाएकी लकिता खेलको प्लेयर अफ द म्याच बनिन्।

कोशीकी निशा शाह र एलिशा खादियाले दुई-दुई विकेट लिए भने कप्तान रुवि क्षेत्री र निरु राजबंशीले एक एक विकेट लिए।

प्रकाशित: ९ मंसिर २०८३ १६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App