खेल

सातौं डीआईजी रनिङ कप फुटबल बुधबारदेखि

जानकारी दिँदै आयोजक टोली। तस्बिर: नागरिक

धरानमा आयोजना हुन लागेको ‘कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजी रनिङ कप फुटबल’ प्रतियोगिताको सातौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।

आयोजक नेपाल पुलिस स्कुल धरानले सोमबार पत्रकार सम्मेलन गर्दै यही पुस ९ गते (बुधबार) देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।

विगतमा २०५८ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिता देशको राजनीतिक उतार–चढाव र विविध कारणले छैटौँ संस्करणपछि स्थगित भएको थियो। लामो अन्तरालपछि प्रतियोगितालाई पुनः निरन्तरता दिन लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका संयोजक सुरेश कुमार हायुका अनुसार प्रतियोगितामा कोशी प्रदेशका सुनसरी, मोरङ र झापा जिल्लाका गरी कुल १६ वटा विद्यालयले सहभागिता जनाउँदै छन्।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत १७ र १८ वर्ष उमेर समूह (यु–१७ र यु–१८) का विद्यार्थीहरूले भाग लिन पाउनेछन्।

तर, एन्फा अन्तर्गतका कुनै पनि व्यावसायिक लिगमा सहभागी भएका खेलाडीहरूले भने यस प्रतियोगितामा खेल्न नपाउने नियम बनाइएको संयोजक हायुले जानकारी दिए।

प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुल (रेड र ब्लु टिम), प्रभात सेकेण्डरी बोर्डिङ् स्कुल, भरौल विद्या मन्दिर, सैनिक आवासीय महाविद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, माउन्ट हर्मन एकेडेमी र डिपोट सेकेण्डरी स्कुल रहेका छन्।

त्यस्तै, झापाबाट निधी सेकेण्डरी स्कुल र वाल्मिकी एजुकेशन फाउण्डेसन तथा मोरङबाट पिनाकल ज्ञान मन्दिर, दिल्ली पब्लिक स्कुल, दिल्ली पब्लिक सेकेण्डरी स्कुल, वाल्मिकी एमएस, आदर्श इङ्लिस स्कुल, सिद्धार्थ सेकेण्डरी स्कुल र सफल सिद्धार्थ एकेडेमीले सहभागिता जनाउने छन्।

प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ८१ हजार ५ प्राप्त गर्नेछ भने उपविजेताले ४१ हजार ५ हात पार्नेछ।

विधागत तर्फ उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता, राइजिङ प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही २ हजार ५ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १ हजार ५ प्राप्त गर्नेछन्।

साथै, खेलमार्फत शैक्षिक प्रोत्साहन गर्ने उद्देश्यले विजेता टिमका खेलाडीहरूलाई कक्षा ११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले घोषणा गरेको छ।

प्रकाशित: ७ पुस २०८२ १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App