खेल

आइपिएलमा आज कोलकाता र पञ्जाब भिड्दै

बैंगलोर र लखनऊको जित

आज इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबिच खेल हुँदैछ। कोलकाताको इडेन गार्डेन्समा हुने यो प्रतियोगिताको १२औँ खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।

आइतबार भएका दुई खेलहरूमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको थियो। एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गर्दै बैंगलोरले २० ओभरमा २५० रन बनाएको थियो। जवाफमा चेन्नई १९.४ ओभरमा २०७ रनमा अलआउट भयो। बैंगलोरले एकै इनिङ्समा १९ छक्का प्रहार गरी कीर्तिमान बनायो।

हिजै भएको अर्को खेलमा लखनऊ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हराउँदै सिजनको पहिलो जित दर्ता गर्‍यो। सनराइजर्सले दिएको १५६ रनको लक्ष्य लखनऊले एक बल बाँकी छँदै पूरा गर्‍यो। 

भोलि राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच प्रतिस्पर्धा हुनेछ। गुवाहाटीस्थित आसाम क्रिकेट एसोसिएशन स्टेडियममा बेलुका ७:४५ बजे नै खेल्ने तालिका रहेको छ। 

प्रकाशित: २३ चैत्र २०८२ ०८:५८ सोमबार