खेल

खड्का अस्ट्रेलियामा निर्णायक

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चारवटा विश्व वरीयताप्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।

नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोकले अस्ट्रेलियामा डब्लुटी प्रेसिटेन्ड कप ओसिएना (विश्व वरीयता जी–३), डब्लुटी प्रेसिटेन्ड कप (जी–३ को पारा), अस्ट्रेलियन ओपन ( विश्व वरीयता जी–२) र पारा अस्ट्रेलियन ओपन गरी चारवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन्।

यस प्रतियोगितामा उनले पुम्से र ग्यारोगी गरी दुवै विधामा खेल सञ्चालन गर्नेछन्। यी चारवटा प्रतियोगिता अगस्ट १४ देखि १७ सम्म अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रंगशालामा हुँदै छन्। यसअघि पनि उनले यी प्रतियोगितामा निर्णायक भइसकेका छन्।

अस्ट्रेलियामा जानुअघि उनले मलेसियामा हुने अर्को प्रतियोगितामा निर्णायक भएर काम गर्नेछन्। मलेसियाको क्वालालम्पुरमा अगस्ट ९ र १० तारिखमा मलेसियन ओपन तेक्वान्दो हुँदै छ। प्रतियोगितामा उनी निर्णायकको भूमिकामा हुनेछन्। त्यसका लागि अशोक शुक्रबार मलेसिया जाँदै छन्। उनी मलेसियाबाटै अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ। खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्। नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।

प्रकाशित: २३ श्रावण २०८२ ०९:४७ शुक्रबार