खेल

हारको सँघारमा काठमाडौं गोर्खाज

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत डे-नाइट एलिमिनेटर खेलमा चितवन राइनोजले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज हारको सँघारमा पुगेको छ।

१५.३ ओभरको समाप्तिमा काठमाडौंले ८ विकेट गुमाएर मात्र १०६ रन जोडेको छ।

जितका लागि काठमाडौंलाई अब प्रतिओभर २२.०० रन आवश्यक छ। क्रिजमा सन्तोष यादव ५ बलमा १ छक्कासहित ७ रन बनाएर अविजित छन् भने भीम सार्की र गणेश गौतम ब्याटिङमा आउन बाँकी छन्।

मध्यक्रम र तल्लो क्रम धराशायी हुँदा काठमाडौंले ९१ देखि ९४ रनको बीचमा ७ बलकै अन्तरमा ३ महत्वपूर्ण विकेट गुमाएको थियो।

चितवनका उसामा मिर र रिजन ढकालले घातक बलिङ गर्दै समान ३-३ विकेट लिए। उसामाले ४ ओभरमा मात्र १५ रन खर्चे भने रिजनले २.३ ओभरमा ६ रन मात्र दिए।

काठमाडौंका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन (२८ बल, ३ चौका, २ छक्का) र सहन अराच्चिगेले १३ बलमा २ चौका र १ छक्कासहित २४ रन जोडे।

अन्य ब्याटरमा राशिद खानले १२ र सोनु देवकोटाले ६ रन बनाउँदा कप्तान करण केसी (१), जहानदाद खान (१), साम हिजलेट (३) र ओपनर साहिल पटेल (२) सस्तैमा पभेलियन फर्किए।

चितवनका कुशल मल्ल र सलाहुद्दिन खानले १-१ विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो।

प्रकाशित: २ मंसिर २०८३ २०:१९ बुधबार