खेल

४ विकेट गुमाएर काठमाडौंको १०० रन पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले ४ विकेटको क्षतिमा १ सय रनको आँकडा पार गरेको छ।

खेलको १४औं ओभर जारी रहँदा काठमाडौंले १३.३ ओभरमा ४ विकेट गुमाएर १ सय ५ रन जोडेको छ।

दबाबपूर्ण स्थितिमा रहेको काठमाडौंलाई अब जितका लागि अन्तिम ३९ बलमा ७६ रनको आवश्यकता छ। हाल आवश्यक रनरेट प्रतिओभर ११.७० पुगेको छ।

क्रिजमा विस्फोटक ब्याटिङ गरिरहेका रसिद खान २५ बलमा १ चौका र २ छक्कासहित ३८ रन तथा कप्तान करण केसी ३ बलमा २ चौका प्रहार गर्दै ९ रन बनाएर खेलिरहेका छन्।

यसअघि सम्हालिएर खेलिरहेका मोहम्मद आदिल आलम २७ बलमा २० रन बनाएर मार्क वाटको बलमा क्याच आउट भए।

लगत्तै आएका भीम सार्की पनि व्यक्तिगत ५ रनमै हुसेन तलतको सिकार बनेपछि काठमाडौंले ८९ रन जोड्दा चौथो विकेट गुमाएको थियो। काठमाडौंका ओपनर डेभिड वार्नर १६ र स्मित पटेल ९ रन बनाएर यसअघि नै पभेलियन फर्किसकेका छन्।

कर्णाली याक्सका लागि कप्तान सोमपाल कामी, नन्दन यादव, मार्क वाट र हुसेन तलतले १-१ विकेट हात पारेका छन्।

कीर्तिपुरस्थित मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले अरिफुल इस्लामको ४४ र हुसेन तलतको ४० रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो।

कप्तान करण र रसिद क्रिजमा रहेकाले खेल अन्तिम ओभरहरूतर्फ निकै रोमाञ्चक मोडमा पुगेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १५:४९ सोमबार