नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली याक्स १० ओभरको खेल सकिँदा संकटमा परेको छ। ‘ड्रिंक्स ब्रेक’ सम्म आइपुग्दा कर्णालीले ६ विकेट गुमाएर मात्र ८६ रन बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीलाई जितका लागि अब बाँकी ६० बल मा १३२ रन आवश्यक छ। कर्णालीको आवश्यक रनरेट प्रति ओभर १३.२० पुगेको छ। हाल क्रिजमा पवन सर्राफ ११ रन र कप्तान सोमपाल कामी ४ रन बनाएर खेलिरहेका छन्।
पावरप्लेमै ४ विकेट गुमाएको कर्णालीले त्यसपछि थप दुई महत्वपूर्ण विकेट गुमायो। ७.३ ओभरमा अनुभवी विदेशी ब्याटर डेविड मिलर मात्र ७ रन बनाएर मेहदी हसनको बलमा चामिका करुणारत्नेबाट क्याच आउट भए। लगत्तै ८.१ ओभरमा गुलशन झा २ रनको व्यक्तिगत स्कोरमा विपिन खत्रीको बलमा किरण ठगुन्नाको हातबाट समातिए।
यसअघि ओपनर जिशान आलम शून्य रन, आरिफुल इस्लाम २४ रन, मार्क वाट ८ रन र आक्रामक ब्याटिङ गरेका दीपक डुम्रे २२ रन बनाएर आउट भइसकेका छन्।
पोखराका स्पिनर मेहदी हसनले घातक बलिङ गर्दै २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइसकेका छन्। यस्तै, विपिन खत्रीले १ ओभरमा ९ रन, धनन्जय लक्षणले २ ओभरमा ११ रन र कुशल भुर्तेलले २ ओभरमा २९ रन दिएर १-१ विकेट हात पारे।
चामिका करुणारत्नेले २ ओभरमा २१ रन र सन्नी बिकले १ ओभरमा ५ रन दिएका छन्। कर्णालीले अतिरिक्त ८ रन पाएको छ।
प्रकाशित: २३ कार्तिक २०८३ १५:२५ सोमबार