नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्ससामू १५८ रनको लक्ष्य दिएको छ। स्लग ओभरमा ब्याटिङमा उत्रिएका कप्तान करन केसीले शानदार ‘फिनिसिङ’ गरेपछि लुम्बिनीलाई काठमाडौंले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि इनिङको सुरुवात देखि नै कोही पनि ब्याटर लयमा देखिएनन्। उसका लागि आकाश त्रिपाठीले सर्वाधिक ३२ रन बनाए। यस्तै सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरार्ड एरासमसले १७–१७ रनको योगदान दिए।
अन्तिममा आएका कप्तान करनले ११ बलमा एक चौका र चार छक्काको मदतले ३४ रनको योगदान दिए। उनले रुबेन ट्रम्पलम्यानको एकै ओभरमा ३१ रन बटुलेका थिए। करनको यही पारीको मदतले काठमाडौंको स्कोर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रन बनाएको हो।
रुबेन ट्रम्पलम्यान, शेर मल्ल, कप्तान रोहित पौडेल र गुलबदिन नैबले समान २–२ विकेट लिए।
प्रकाशित: ९ मंसिर २०८२ १७:३९ मंगलबार