इंग्ल्यान्डका कप्तान ह्यारी केनले बालोन डी’ओर अवार्ड जितेका छन्। जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर केन सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्।
३३ वर्षीय केनले लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका हुन्। उनी बालोन डी’ओर जित्ने पाँचौँ इंग्लिस खेलाडी बनेका छन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए।
यसपटक स्पेनिस क्लब बार्सिलोनाका युवा फरवार्ड लामिन यामाल तेस्रो हुँदा फ्रान्स तथा रियल म्याड्रिडका फरवार्ड किलियन एम्बाप्पे दोस्रो स्थानमा रहे।
अवार्ड जितेपछि केनले आफ्नो सफलताप्रति खुसी व्यक्त गर्दै करिअरको सुरुवातमा आफूलाई धेरैले सुपरस्टारका रूपमा नहेरेको बताए। उनले सफलताका लागि कठिन समय पार गर्दै आत्मविश्वास, दृढता र निरन्तर मेहनत आवश्यक परेको उल्लेख गरे।
‘धेरैले म यहाँसम्म आइपुग्छु भन्ने सोचेका थिएनन्। सायद मैले पनि सोचेको थिइनँ,’ केनले भने, ‘मैले करिअरमा धेरै उतारचढाव पार गर्नुपर्यो। आत्मविश्वास कायम राख्दै मेहनत गर्नुपर्ने थियो। त्यसैले नै मलाई उच्च स्तरमा पुगेपछि पनि निरन्तर सुधार गर्न प्रेरित गर्यो।’
इंग्ल्यान्डका प्रशिक्षक थोमस टुकेलले केनले अवार्ड जितेकोमा खुसी व्यक्त गर्दै यसलाई ठूलो सम्मानको संज्ञा दिएका छन्। बेलायती राजकुमार विलियमले पनि केनलाई उत्कृष्ट कप्तान र असाधारण खेलाडीका रूपमा प्रशंसा गरेका छन्।
केनले गत सिजन क्लबका लागि ५१ खेलमा ६१ गोल गरेका थिए। यो बायर्न म्युनिखका कुनै पनि खेलाडीले एक सिजनमा गरेको सर्वाधिक गोल हो। इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका खेलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ असिस्ट गरेका थिए।
यति उत्कृष्ट प्रदर्शनका बाबजुद केनले गत सिजन फुटबलका दुई ठूला उपाधि जित्न सकेका थिएनन्। उनको टोली विश्वकप र युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो। प्रमुख उपाधि नजिते पनि व्यक्तिगत प्रदर्शनका आधारमा बालोन डी’ओर जित्नु केनका लागि विशेष उपलब्धि बनेको छ।
केन सन् १९८१ मा कार्ल हाइन्ज रुमेनिगेपछि बालोन डी’ओर जित्ने पहिलो बायर्न म्युनिखका खेलाडीसमेत बनेका छन्। उनको सफलताको खुसीयालीमा सोमबार राति लन्डनस्थित वेम्ब्ली रंगशालाका आर्चहरूलाई सुनौलो प्रकाशले सजाइएको थियो।
प्रकाशित: १० कार्तिक २०८३ ०७:०५ मंगलबार